जनवरी एक मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या मङ्गलबारसम्म दुई सय नाघेको छ । इशिकावा क्षेत्रीय अधिकारीहरूले आज भूकम्प परी अझै एक सय जना बेपत्ता जानकारी दिएका हुन । बेपत्तामा धेरै जसो अति प्रभावित क्षेत्र बाजीमाका मानिसहरू रहेका छन ।
नयाँ वर्षको पूर्व सन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भुकम्पपछि जापानको होन्सु टापुस्थित नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए ।भूकम्प गएको आठ दिन सम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बावझुत भग्नावशेष हटाउन र फसेका ३५ सय मानिसहरू सामु पुग्ने प्रयास गरिरहेका छन् ।प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भइरहेको छ । सोमबारसम्म झण्डै ३० हजार मानिसहरू ४ सय वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् ।



उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ । झण्डै ६० हजार घरधुरी खानेपानी विहीन छन् भने १५ हजार छ सय घरधुरी बिजुलीविहीन भएका छन् । दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ । मङ्गलबारको दैनिक विपद्–राहत सरकारी बैठकमा, प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीहरूलाई समुदायको समस्या समाधान गर्न र प्रभावकारी उद्धार कार्य जारी राख्न“ निर्देशन दिएका छन ।
जापानले हरेक वर्ष यस्ता भूकम्पको सामना गर्छ । यद्यपि चार दशकभन्दा बढी समयदेखि लागू भएको कडा भवन संहिताका कारण त्यति ठुलो क्षति भने भएको थिएन । पुराना संरचनाहरू भएका विशेष गरी नोटो जस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ । सन् २०११ को भूकम्पले सुनामी निम्त्याउँदा करिब १८ हजार ५ सय मानिसको मृत्यु भएको थियो ।



