काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता पछिको विकास सन्तोषजनक रहेको बताएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७५३ तहकै अवस्था हेर्दा आफूले विकास निर्माण लगायतमा भएको काम सन्तोषजनक पाएको बताए । ‘स्थानीय सरकार बनेपछि अथवा संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार जनताको सरकारको रुपमा परिभाषित गरिएपछि जे जति विकास निर्माणका काम भएका छन् । ती पक्कै पनि मेरो विचारमा सन्तोषजनक छन् । उत्साहवर्द्धक छन्,’ उनले भने । उनले रोजगारी सिर्जनाका काम गर्न तथा प्रदेश र स्थानीय तहलाई बलियो बनाउन आफू लागिपरेको बताए । त्यसका लागि छिट्टै नै संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन र प्रहरी समायोजन ऐन ल्याउन लागेको जानकारी पनि दिए । हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो नेपालमा । पोजेटिभ कुरा नदेख्ने बढी भयो । यस्तो भयो भने राजनीतिक स्थायित्व, विकास र समृद्धिको यात्रा गर्न सक्दैनौँ ।उनले भने । प्रधानमन्त्री दाहालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई वागमती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देख्नुभएको छ ? भन्दै प्रश्न गरेका थिए । उनले आफू काठमाडौंको फोहोर व्यवस्थापन लगायतका कुरामा रचनात्मक रहेको बताए । व्यवस्थापनका लागि गरेको पहललाई स्वीकार्न किन नसकेको भन्दै मेयर साहलाई प्रश्न गरे । तपाईं काठमाडौं महानगरको मेयर भएको नाताले उपत्यकाका अरु नगरपालिकालाई समन्वयन गर्ने बढी जिम्मेवारी छ । मैले बढी सहयोग तपाईंलाई गर्छु भनेर भनेको कुरा गर्न केले रोक्यो ? प्रधानमन्त्रीले बल गरिरहेको छ भन्न केले रोक्यो ?’दाहालले प्रश्न गरेका थिए ।

 

कार्यक्रममा,काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको खोला अतिक्रमण हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सहयोग मागे । उनले तीनै तहको सरकारले आफ्नो अधिकार भन्दापनि कर्तव्य ठानेर काम गर्नुपर्नेमा जोड दिए । उनले संघीय कानूनमा स्थानीय कानूनमा बाझिएकाले मेयरहरू, उपमेयरहरु नै बसेर सल्टाउन नसक्ने काममा सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । उपत्यकाको विकास एकै पटक हुनुपर्ने भन्दै उनले सबै पालिका साथसाथै अघि बढ्नुपर्ने बताए । प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टिसमेत जनाए । उनले काठमाडौं र ललितपुर परस्पर सम्बन्ध रहेको उल्लेख गर्दै एकअर्कालाई सहकार्य गरेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय