काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको घोषणा गरिएको हो ।
सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदको दुबै सदनमा पढेर सुनाइएको हो । गत वैशाख २८ गतेबाट प्रारम्भ भएको चौथो अधिवेशन आजसम्म १३० दिन चालू रहेको संसद सचिवालयले जनाएको छ । यो बीचमा भए गरेका संसदीय गतिविधिबारे सभामुख देवराज घिमिरेले आजको बैठकमा संक्षिप्त जानकारी गराउनुभयो । जसअनुसार ५३ दिनमा ५६ पटक बैठक बसेर २०६ घण्टा २५ मिनेट संसदीय काम कारवाहीमा बितेको छ । यस अवधिमा संयुक्त बैठक दुई पटक बसी ३ घण्टा ५५ मिनेट समय व्यतित गरिएको छ । यस अधिवेशनमा प्रतिनिधिसभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भयो । जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएका छन् भने ३ वटा विधेयक समितिमा विचाराधीन छन् ।



राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१” सम्बन्धित समितिमा विचाराधीन रहेको छ । साथै अघिल्ला अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त १० वटा विधेयकहरु मध्ये ४ वटा विधेयकहरु पारित गरी फिर्ता पठाइएको छ । यस अवधिमा राष्ट्रिय सभाका ४० वटा बैठक बसी जम्मा ७३ घण्टा ५५ मिनेट सभाको काममा व्यतित भएको अध्यक्ष नारायणप्रसाद दाहालले बताउनुभयो ।



