काठमाडौं । नेकपा माओवादी केन्द्रले देश र जनताका जल्दाबल्दा विषयमा सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेशका नेता तथा कार्यकर्ताको बैठकमा पार्टीलाई प्रभावकारी बनाउन वर्गतिर फर्कनुपर्ने, विगतका गल्ती तथा कमजोरीलाई आत्मालोचना गर्नुपर्ने, संगठन निर्माणमा विशेष जोड दिनुपर्नेलगायत समसामयिक राजनीतिक विषयमा नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीभित्र निरन्तर बहस र छलफलबाट पार्टीभित्र देखिएको विवाद समाधान भइसकेको उल्लेख गर्नुभयो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले निर्वाह गर्ने भूमिका तथा संगठन विस्तारलगायतका विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । उहाँले माओवादी नेतालाई अब सडक र सदनमा सशक्त भएर लाग्न निर्देशन पनि दिनुभयो । उपमहासचिव जनार्दन शर्माले पनि आफूले स्थायी समिति बैठकमा राखेको लिखित धारणाबारे जानकारी राख्दै पार्टीलाई सुधार र जनमुखी बनाउने आफ्नो ध्येय रहेको दाबी गर्नुभयो ।



बैठकमा उपाध्यक्ष पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा एवं बागमती प्रदेशको नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।



