सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी र लेखा अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गापाका प्रप्रअ चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, शिक्षक श्याम प्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्सका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरुले गाउँ कार्यपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुईगुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क प्याड वितरणका लागि बजेट विनियोजन भएकोमा गाउँपालिकाले लागत अनुमान नै तयार नगरी ९ लाख ११ हजार ९ सय २५ रूपैयाँ पर्नेमा जस्मिन हाईजिनद्वारा उत्पादित स्यानिटरी प्याड १७ लाख ८५ हजार ९ सय २८ रूपैयाँमा खरिद गरी ८ लाख ७४ हजार ३ रूपैयाँ बराबरको रकम बढी तिरेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

पाँचै जनाविरुद्ध ८ लाख ७४ हजार रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो । त्यस्तै आयोगले डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र कार्यवाहक वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा मड्केचुला गाउँपालिका– ८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा नगरेको कामको पनि उपभोक्ता समितिलाई रकम भुक्तानी गरेको आरोपमा अख्तियारले तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत र सब–इन्जिनियर दिप नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै मुड्केचुला गाउँपालिका– ८ का तत्कालिन कार्यवाहक वडाध्यक्ष धनबहादुर रोकाया, कार्यपालिका सदस्य रामकुमार नेपाली, वडा प्राविधिक इशारा बुढाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकाया र कोषाध्यक्ष निर्मला रोकायाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय