काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना दलका नेताहरूलाई जोगाउने र विपक्षी दलका नेताहरूलाई कारबाही गरिरहेको बताउनु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सापकोटाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वका बेला कसैलाई पनि पक्ष÷विपक्ष नभनी कारबाही गरिए पनि अहिलेको सरकार विपक्षी दलका नेताहरूलाई मात्रै लक्षित गरेर कारबाही गरिरहेको बताउनु भएको हो । उहाँले विपक्षी नेताहरूलाई छानी छानी मुद्दा लगाउने र जेल हाल्ने काममा सरकार केन्द्रित भएको दाबी गर्नुभयो ।



सापकोटाले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई प्रमाण हुँदाहुँदै पनि खुला रूपमा संरक्षण गरेको आरोपसमेत लगाउनु भयो । पत्रकार सम्मेलनको क्रममा माओवादी केन्द्रले कार्तिक १० गते सरकारलाई उत्तरदायी बनाउन खबरदारी सभा गर्ने निर्णय पनि गरेको छ ।



