काठमाडौं । यो वर्ष सर्वोत्कृष्ट कर्मचारी विना नै निजामती दिवस मनाउन लागिएको छ । शनिबार २१औँ निजामती दिवस मनाइँदै गर्दा सरकारले विगतका सात वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन सकेको छैन । निजामती सेवाका ८६ हजार कर्मचारी रहँदा पनि सरकारले यो वर्ष पनि एकजना पनि सर्वोत्कृष्ट भेट्न नसकेको हो । योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यो वर्ष पनि कसैलाई नदिने भएको हो ।
शुक्रबारअपराह्न निजामती पुरस्कार सिफारिस छनोट समितिको बैठक बसेको थियो । बैठकपछि संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले यो वर्ष पनि सर्वोत्कृष्ट निजामती पुरस्कार कसैलाई नदिने स्पष्ट पार्नुभयो । उहाँले यो वर्ष २० जना कर्मचारीले निजामती सेवा पुरस्कार र २० ले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेछन् । मुख्यसचिवको अध्यक्षतामा सर्वोत्कृष्ट तथा निजामती पुरस्कार सिफारिस समिति गठन हुन्छ । समितिमा संघीय मामिला तथा अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुन्छन् । सर्वोत्कृष्ट पुरस्कार दुई लाख रुपैयाँको छ । २०७३ सालमा भने शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो । सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हालसम्म चारजनाले मात्रै पाएका छन् ।



२०६८ सालमा तत्कालीन परीक्षा नियन्त्रक सूर्य गौतम, २०६९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन सचिव भगवतीकुमार काफ्ले र २०७० मा उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीले पुरस्कार हात पारेका थिए । निजामती सेवा दिवसका अवसरमा २०६१ सालदेखि सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार दिन थालेको थियो । सर्वोत्कृष्ट कर्मचारी छान्ने क्रम २०७४ सालदेखि हुन सकेको छैन ।
निजामती सेवा नियमावलीले सर्वोत्कृष्ट तथा उत्कृष्ट पुरस्कार पाउने कर्मचारीको न्यूनतम आधार र मापदण्ड तोकेको छ। पुरस्कार पाउन त्यस वर्ष व्यक्तिगत या संस्थागत रूपमा विशेष योगदान पु¥याएको, निजामती सेवामा प्रवेश गरेको कम्तीमा आठ वर्ष पुगेको, कुनै पनि विभागीय सजाय नपाएकोलगायत मापदण्ड तोकिएको छ ।



