काठमाडौँ – चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरूका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारीहरूले आर्थिक वर्ष समाप्त भएको ३५ दिनभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ।
चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय (श्रम, रोजगार तथा सहकारी प्रवर्द्धन शाखा) ले एक सूचना जारी गर्दै नगरपालिकाभित्रका सम्पूर्ण सहकारी संस्थाहरूलाई सोबारे जानकारी गराएको हो।




राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२” को परिच्छेद ७ को दफा २.८ मा भएको व्यवस्था अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३५ दिनभित्र तोकिएको ढाँचामा सम्पत्ति विवरण तयार गरी संस्थामा पेश गर्नुपर्ने नियम रहेको छ।
नगरपालिकाले उक्त नियमको पालन गर्न गराउन सम्बद्ध सम्पूर्ण सहकारी संस्थाहरूलाई अनुरोध गरेको छ। सम्पत्ति विवरण फारामको ढाँचाका लागि सूचनामा उल्लेखित नेपाल सरकारको एकीकृत सम्पत्ति विवरण प्रणालीको लिङ्क (https://pis.gov.np/content/13304/property-details-conditioning-form-docx/) मार्फत डाउनलोड गर्न सकिने जनाइएको छ।



