सहकारी रकम दुरुपयोग संसदीय छानबिन समितिले पूर्ण प्रतिवेदन सार्वजनिक गरेको छ । एमाले सांसद सूर्य थापा नेतृत्वको सात सदस्यीय समितिले तयार पारेको ११ सय २४ पृष्ठ लामो प्रतिवेदन प्रतिनिधिसभाले सार्वजनिक गरेको हो । यसअघि भदौ ३१ मा समितिले प्रतिनिधि सभालाई छानबिन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले विभिन्न सहकारीबाट ग्यालेक्सी टेलिभिजनमा तत्कालीन प्रवन्ध निर्देशक हुँदा मासिक ६ लाखका दरले १ करोड ४ लाख रुपैयाँ तलब बुझेको देखाएको छ ।
समितिले कारोबारका सम्बन्धमा लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ । समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार रहेको बयान दिए पनि कारोवारमा लामिछाने नै संलग्न रहेको देखिएको ठहर गरेको हो । समितिले गोर्खा मिडियाका सञ्चालकहरुले आफ्नो शक्तिको गलत उपयोग गरेको पनि जनाएको छ । मिडियाका अध्यक्ष जीबी राई र आफन्तबाट करिव २ अर्ब ५८ करोड सहकारीको रकम अपचलन भएको छ । गोरखा मिडियाले सूर्यदर्शन, सुप्रिम, सानो पाइल, स्वर्णलक्ष्मी, समानता र सहारा सहकारीबाट लिएको रकम अपचलन गरेको प्रतिवेदनले देखाएको छ ।






