साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से आज २० दशमलब ७६ अंकले घटेर २ हजार ५ दशमलब ८३ को बिन्दुमा बन्द भएको हो । आज ३ सय ९ कम्पनीको ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ । १४ करोड ८७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र जोशी हाइड्रोपावर रहेका छन् । आज १ सय ९७ कम्पनीको सेयर मूल्य घट्दा ४९ कम्पनीको बढेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बिहिबार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ७ दशमलब ६० प्रतिशतले घटेको छ । १३ मध्ये उत्पादन तथा प्रशोधन र फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्सको ०.३३ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.१४ प्रतिशतले बढेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक १.९० प्रतिशतले घटेको छ ।






