भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल पराजित भएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा साविक उपविजतो समेत रहेको नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको हो । पहिलो पटक साफ खेलिरहेको कुवेतको जितमा कप्तान खालिद हाजिहले २३औँ, शाबैब अल्खाल्दीले ४२औँ र मोहमद अब्दुल्लाहले ६५औँ मिनेटमा गोल गरे ।
नेपालका लागि अन्जन विष्टले ६८औँ मिनेटमा एक गोल फर्काए । जितसँगै समूह ’ए’ मा रहेको कुवेतले ३ अंक जोडेको छ । यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाएका छन् । कुवेत र लेबनान आमन्त्रित टोलीको रुपमा सहभागी भएका हुन् । अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग र समूह चरणको तेस्रो तथा अन्तिम खेलमा असार १२ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।






