काठमाडौं । भारतले साफ च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ । मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै भारतले उपाधि उचालेको हो । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । शबैश अल खाल्दीले खेलको १४ औं मिनेटमा गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । लल्लियान्जुआला चाग्तेले ३८ औं मिनेटमा गोल गर्दै भारतलाई बराबरीमा ल्याउन सफल भए । यो सँगै भारत नवौं पटक साफ च्याम्पियनसिप प्रतियोगिताको उपाधी उचाल्न सफल भएको छ ।
भारतले यसअघि सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो । प्रतियोगिताको १४ वर्षमा भारत ९ पटक च्याम्पियन बनेको हो ।



उपाधीसँगै भारतले ५० हजार अमेरिकी डलर रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता कुवेतले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।



