रौतहटको गरूडा बजारमा रहेको एनआईसी एशिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताविरूद्ध प्रहरीमा ठगीसम्बन्धी निवेदन परेको छ । बैंकका सेवाग्राहीले गुप्ता बिरुद्ध उजुरी दिएका हुन् । गुप्ताले ऋण लिएका सेवागा्रहीसंग खाली चेक लिइ चेकबाट अनधिकृतरुपमा रकम निकालेको दावी सहित उजुरी परेको हो । जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जनाले दिएको उजुरीमा ऋण स्वीकृत र कर्जा प्रवाह गरेबापत गुप्ताले जय बाबा वैद्यनाथ एग्रिकल्चर कम्पनी प्रालि संग ८ वटा खाली चेक लिएर,झण्डै ७० लाख , अशोका एग्रिकल्चरसंग नौ वटा खाली चेकमा सही गराएर लिएको र सोही चेकहरूबाट ८५ लाखभन्दा बढी रकम निकालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
साथै अम्बे कृषि फर्मका प्रोप्राइटरसँग सापटी भन्दै २ करोड ५ लाख रुपैया ७ महिना अघि लिएर फिर्ता नगरेको उजुरीमा उल्लेख छ । अशोका एग्रिकल्चरले सर्लाही बरहथवा नगरपालिका १० सुन्दरपुर चोहर्वामा रहेको ४ बिगाह १७ कटठा जमिन धितो राखि एनआइसी एशिया बैैकसंग ४ करोड ७५ लाख ऋण स्वीकृत भएको थियो । जय बाबा वैद्यनाथ एग्रिकल्चर कम्पनी प्रालिले भने चन्द्रपुर १० डुमरियाको २५ कटठा र चन्द्रपुर ९ को घरसहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत भएको थियो । एनआईसी एशिया बैंकका रौतहटको गरूडा बजारका प्रबन्धक गुप्ताले खाली चेक लिइ ऋण स्वीकृत भएको रकम मध्य बाटनै अनधिकृतरुपमा रकम निकालेको दावी सहित उजुरी परेको हो ।प्रहरीले अनुसन्धानका लागि शाखा प्रबन्धक गुप्तालाई प्रहरी कार्यालय बोलाएर सोधपुछ गरेको छ।






