सिङ्गापुरमा लागू औषध बोकेको अभियोगमा एक सय ३० जना पक्राउ परेका छन् । केन्द्रीय लागू औषध नियन्त्रण विभाग (सिएनबी) ले आज एक विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी खोजतलासको कारवाहीमा एक सय तीस ३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
सिएनबीले दुई साता लामो कारवाहीका क्रममा करिब एक हजार तीन सय १८ ग्राम हेरोइन, दुई हजार पाँच सय ३५ ग्राम गाँजा, चार सय ८६ ग्राम ‘आइस’ र एक सय ८८ ग्राम केटामाइनलगायत लागूऔषध बरामद गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सिएनबीले पक्राउ परेका सबै संदिग्धमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।



सिङ्गापुर लागू औषध तस्करी गर्नेलाई मृत्युदण्डको कठोर सजाय दिने मुलुक मध्येको एक हो । हालै पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका एक पुरुष र तीस ग्राम हेरोइन बोकेको आरोपमा दोषी ठहर गर्दै एक महिलालाई मृत्युदण्ड दिएको थियो । सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिएको हो । बीस वर्षअघि कपाल काट्ने एक महिलालाई यस्तै अपराधमा मृत्युदण्ड दिइएको थियो ।



