नेपाली सुन बजारमा आज ऐतिहासिक वृद्धि भएको छ। छापावाल सुनको मूल्य तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज शुक्रबार मात्र सुनको मूल्य ७ हजार १ सय रुपैयाँले वृद्धि भएको हो। यो दैनिक वृद्धिको हिसाबले पनि एकदमै उच्च दर हो। यसअघि सोमबार सुनको मूल्य २ हजार ४ सय, मंगलबार ८ हजार १ सय, बुधबार ४ सय र बिहीबार २ हजार रुपैयाँले बढेको थियो।
यसरी पछिल्लो पाँच दिनको अवधिमा सुनको मूल्य १९ हजार रुपैयाँभन्दा बढीले वृद्धि भएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ, जसको सीधा असर नेपाली बजारमा परेको हो। डलरको मूल्यवृद्धि र अन्तर्राष्ट्रिय आर्थिक उतारचढावका कारण सुनको भाउ निरन्तर उकालो लागिरहेको विश्लेषण गरिएको छ।



त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि हुँदै गएको छ। आज चाँदी ७५ रुपैयाँले बढेर तोलाको ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। सुनचाँदीको मूल्य वृद्धिले विवाह, पूजाआजा र सुनमा लगानी गर्ने उपभोक्तामा असर पारेको छ। व्यवसायीहरूले मूल्य अझै बढ्ने संकेत दिँदै लगानीकर्तालाई सतर्कता अपनाउन सुझाव दिएका छन्।



