काठमाडौं । प्रहरीले गरिरहेको अनुसन्धानलाई असर नपर्ने गरी सत्तापक्ष र प्रतिपक्षबीच सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानविन समिति बनाउने सहमति भएको छ ।
सिंहदरबारमा गएराति बसेको सर्वदलीय बैठकले सर्वदलीय छानविन समिति बनाउने सहमति जुटाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सुनकाण्डको विषयमा जाँचबुझ आयोग बन्ने र सीआईबीको अनुसन्धानमा बाधा अवरोध नपर्ने गरी सहमति जुटेको बताउनु भयो । सहमतिको मस्यौदा तयार गर्न तीन सदस्य समिति गठन गरिएको छ । मस्यौदा समितिमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।
उच्चस्तरीय छानविन समिति बनाउने सहमति भएसँगै गत साउन १० गतेदेखि अवरुद्ध संसद सुचारु हुने भएको छ । संसद बैठक आज दिउँसो ३ बजे बस्ने छ ।






