नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन् । बिहीवार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वर्गिय नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्त भएको बताएका हुन् । उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग हुन नसक्ने बताउँदै नेम्वाङले दलिय स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसदको गरिमा बढाएको बताए ।



अध्यक्ष ओलीले नेम्वाङ सामुदायिक विद्वेषको बिरुद्धमा रहेको पनि बताए । उनले नेम्वाङलाई सामाजिक सद्भाव, सामाजिक न्याय र सामाजिक सद्भावका साथ राष्ट्रिय एकताको पक्षमा रहने व्यक्तिको रुपमा स्मरण गरे । स्वर्गिय नेम्वाङ सधैँभर न्यायको पक्षमा उभिएको अध्यक्ष ओलीको भनाइ छ ।



