काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका लागि भ्रष्टाचारमा संलग्न जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भएपनि कारबाही गरिने बताउनु भएको छ ।
गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय शहिद तथा शान्ति उद्यानमा गृहमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने हुँदा वर्तमान सरकारको पहिलो सर्त नै सुशासन भएको उल्लेख गर्नुभयो । उहाँले सुशासनका लागि सरकारले चालेका भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ सहयोगको आवश्यकता रहेको बताउनु भयो । भ्रष्टाचार र कमिसनले देशमा जरा गाडेकोले समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मुलुकलाई समुन्नत बनाउने सहिदका सपना पूरा गर्न भ्रष्टाचार बाधक भएकाले जरैदेखि उन्मुलन गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । ।



सहिदलाई सम्झेर राजनीतिक दलका नेता कार्यकर्ता तथा राज्यका निकायले आफूलाई सच्चाएर अघि बढ्नु पर्ने मन्त्री श्रेष्ठको आग्रह थियो ।



