काठमाडौं । निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचनको लागि तयारीमा जुटेको छ । आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा मंसिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।
स्थानीय तह निर्वाचन ऐन– २०७३ मा आयोगको सुझावमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने छ । आयोगले रिक्त रहेका स्थानीय तहलाई लक्ष्य गरी मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि नै आह्वान गरिसकेको छ । स्थानीय तहका ३५ पदाधिकारी रिक्त छन् । आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष दुई जना तथा प्रमुख र उपप्रमुख एक–एक जना र २९ वडाध्यक्ष पद रिक्त छन् ।



बागमती प्रदेशको कीर्तिपुर नगरपालिकाका प्रमुख र कर्णालीको नलगाड नगरपालिकाका उपप्रमुख पद रिक्त छ । कोशी प्रदेश अन्तर्गतको ग्रामथान गाउँपालिकाका अध्यक्ष र कर्णालीको महाबु गाउँपालिकाका अध्यक्षको पद रिक्त छ । बागमतीको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष र सुदूरपश्चिमको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पद पनि रिक्त छ ।



