काठमाडौं । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको हनुमानढोकास्थित नासल चोकको दशैं घरमा आइतबार बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा जमरा राखिएको छ।धार्मिक विधि र परम्पराअनुसार दशैं घरमा जमरा राखिएसँगै बडादशैंको विधिवत् सुरुवात भएको छ। नेपाली हिन्दू धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी दशैं पर्व मनाउने परम्परा छ।
घटस्थापनाका दिन घरको पूजाकोठा वा विशेष पूजा स्थलमा शुद्ध माटो र जौ छरेर जमरा राख्ने गरिन्छ। विधिपूर्वक स्थापना गरिएको कलशमा दुर्गा भवानीको आह्वान गरी नौ दिनसम्म शक्तिस्वरूपा देवी दुर्गाको पूजा आराधना गरिन्छ। यस अवधिलाई नवरात्रका रूपमा मनाइन्छ।



दशैं घरमा राखिएको जमरालाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्त्वका साथ लिइन्छ। विजयादशमीका दिन देवी दुर्गाको प्रसादका रूपमा जमरा र रातो टीका ग्रहण गरी मान्यजनबाट आशीर्वाद लिने परम्परा रहेको छ।
हनुमानढोकास्थित नासल चोकको दशैं घरमा जमरा राख्ने परम्परा काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको छ। यहाँ हुने दशैंसम्बन्धी धार्मिक गतिविधिले नेपाली मौलिक संस्कृति र परम्पराको महत्त्वलाई झल्काउँछ। बडादशैंलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयका रूपमा समेत लिने गरिन्छ। यो पर्वले परिवार तथा आफन्तबीचको भेटघाट, सद्भाव, एकता र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिन्छ।



