हमासले इजरायलबाट बन्धक बनाएका २४ जना रिहा भएका छन । हमासले शुक्रबार उनीहरूलाई इजिप्ट हुँदै इजरायल फर्किनका लागि रेडक्रसको जिम्मा लगाएको हो । रिहा हुनेमा १३ इजरायली, १० थाई र एक फिलिपिनो रहेका छन । मुक्त भएका इजरायलीमा दुई, चार, छ र नौ वर्षका चार बालबालिका र एक ८५ वर्षीया महिला पनि छन ।



हमास लडाकु समूहले १३ जना बन्धकलाई रिहा गरेसँगै इजरायली जेलबाट ३९ जना प्यालेस्टिनी रिहा भएका छन् । इजरायली जेलमा राखिएका २४ जना महिला र १५ किशोरीलाई गएराति रिहा गरिएको हो । उनीहरुमाथि ढुङ्गा हान्नेदेखि हत्या प्रयाससम्मका विभिन्न आरोप लागेको थियो । इजरायलले बन्दी बनाएका प्यालेस्टिनीलाई म्झौताको एक भागको रूपमा वेष्ट बैंकमा रिहा गरिएको हो ।
सम्झौताका शर्तअनुसार, अस्थायी युद्धविरामको अवधिमा जम्मा ५० इजरायली बन्धक र १५० प्यालेस्टिनी बन्दीलाई चार दिनभित्र रिहा गरिने छ । कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार लडाइँ पनि चार दिनका लागि रोकिएको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियो । २ सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसलगत्तै इजरायलले गरेको आक्रमणमा १४ हजार जनाभन्दा धेरै मानिस मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



