काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी जनआन्दोलनलाई हिंसा शब्द बोलेपछि माओवादी र एमालेबीच संसदमा भनाभनको स्थिति सिर्जना भयो ।
एमाले सचिवसमेत रहेका भट्टराईले माओवादी युद्धलाई ‘१० वर्षे हिंसा’ भनेपछि माओवादीका सांसदले संसदमा आपत्ति जनाएका हुन् । डेडिकेटेड र ट्रंक लाइनको विवादमा बोलेका भट्टराईले देशमा १० वर्ष माओवादी हिंसा नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने बताएका थिए ।



माओवादी सांसदहरूले उठेर उक्त शब्दको आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए । माओवादी सचिव देवेन्द्र पौडेलले यस्ता शब्द प्रयोग गरेर शान्तिप्रक्रिया तलमाथि नगर्न आग्रह गर्नुभएको थियो । त्यसपछि नियमापत्ति गरेका एमाले सांसद रघुजी पन्तले हिंसा भन्ने शब्द असंसदीय हो भन्ने आधार स्पष्ट पार्न चुनौती दिएका थिए ।
सभामुखले यस विषयमा आफूले निर्देशन गरिसकेको भन्दै विशेष समयको कार्यसूची अघि बढाउनु भएको थियो ।



