काठमाडौं – तारकेश्वर नगरपालिका–१०, मनमैजुमा बस्दै आएका १५ वर्षीय समिप खड्का १६ दिनदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार उनी साउन ८ गते शुक्रबार अपराह्न करिब ४ बजे घरबाट बाहिरिएपछि अहिलेसम्म घर फर्किएका छैनन्। उनको मोबाइलमा समेत सम्पर्क हुन सकेको छैन।
परिवारका अनुसार समिप केही समयदेखि नियमित रूपमा घरमा आउने गरेका थिएनन्। उनी घरमा कोही नभएको समयमा दिउँसो आउने, आफूलाई मनपर्ने खाना खाने र दिउँसै बाहिरिने गरेको परिवारले जनाएको छ। साउन ७ गते बिहीबार पनि उनी घर आएको उनकी एक बहिनीले परिवारलाई जानकारी गराएकी थिइन्।



त्यसपछि भोलिपल्ट अर्थात् साउन ८ गते शुक्रबार अपराह्न करिब ४ बजे उनी घरबाट बाहिरिएका थिए। त्यसयता उनको अवस्था र उनी कहाँ छन् भन्नेबारे परिवारलाई कुनै जानकारी प्राप्त भएको छैन।परिवारका अनुसार समिपले साथीहरूसँग लुगा साटेर लगाउने गरेका कारण उनी घरबाट निस्कँदा लगाएको पोसाकबारे समेत यकिन गर्न कठिन भएको छ। परिवारले उपलब्ध गराएको पछिल्लो जानकारीअनुसार उनी शुक्रबार घरबाट निस्कँदा रातो चेक सर्ट र खैरो ट्राउजर लगाएका थिए।
लामो समयसम्म घर नफर्किएपछि समिपका आमा, बुबालगायत परिवारका सदस्य चिन्तित भएका छन्। परिवारले सम्भावित सबै ठाउँमा खोजी गरिरहेको भए पनि उनको हालको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जनाएको छ।
समिप कहाँ गएको हुन सक्छन् भन्नेबारे समेत परिवार अनभिज्ञ रहेको बताइएको छ। उनको मोबाइल सम्पर्क तथा अन्य अवस्थाबारे पनि परिवारले कुनै जानकारी पाउन सकेको छैन।परिवारले समिपलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल खबर गरिदिन आग्रह गरेको छ।समिप खड्काबारे कुनै जानकारी भए ९७०७७९५२८४ मा सम्पर्क गरी खोजी कार्यमा सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ।



