पर्वत- कालीगण्डकी नदीमाथि निर्माण गरिएको कुश्मा–बलेवा बञ्जी जम्पमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। पर्वतको कुश्मा बजार र बागलुङको बलेवा क्षेत्रलाई जोड्ने पुलबाट बञ्जी जम्प सञ्चालनमा आएपछि दुवै क्षेत्रमा पर्यटकीय तथा व्यावसायिक गतिविधि बढेका छन्। साहसिक पर्यटनका लागि चर्चित बन्दै गएको यस गन्तव्यमा पछिल्लो समय दैनिक ३०० भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन्। बञ्जी जम्पका लागि दैनिक ५० जनासम्मको क्षमता रहेकोमा सबैजसो स्थान भरिने गरेको सञ्चालकको भनाइ छ।

२०७७ साल कात्तिकदेखि सञ्चालनमा आएको यस बञ्जीलाई विश्वकै दोस्रो अग्लो बञ्जी भएको दाबी गरिएको छ। द क्लिफ प्रालिले करोडौँ रुपैयाँ लगानीमा सञ्चालन गरेको बञ्जीसँगै स्विङ, स्काइसाइक्लिङ, मेघा ट्रोल र रिसोर्टलगायतका संरचना पनि निर्माण गरिएका छन्। कम्पनीले बञ्जी जम्पसहितका पूर्वाधार निर्माणमा हालसम्म ९० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको जनाएको छ। बञ्जीसँगै अन्य साहसिक खेल तथा पर्यटकीय संरचना थपिँदै गएपछि पर्यटकको आकर्षण पनि बढ्दै गएको छ। बञ्जीका लागि नेपालसँगै भारत, बंगलादेश तथा युरोपका विभिन्न देशबाट पर्यटक आउने गरेका छन्।

यस परियोजनाका लागि २०७३ सालदेखि पुल निर्माण सुरु गरिएको थियो। २०७६ सालसम्म रिसोर्ट निर्माणको कामसमेत सम्पन्न भएको थियो। ५२५ मिटर लामो पुल कालीगण्डकी नदीको सतहदेखि २२८ मिटर अग्लो रहेको छ। यहाँ बञ्जी जम्प गर्नेमा युवादेखि वृद्धवृद्धासम्म छन्। कतिपय पर्यटक एकपटक जम्प गरेरै सन्तुष्ट हुने गरेका छन् भने कतिपयले पटक–पटक जम्प गर्दा पनि अनुभव लिन मन नअघाएको बताउने गरेका छन्। दसैँ बिदाका कारण पछिल्लो समय घुमफिरमा निस्कने पर्यटकको चाप थप बढेको छ।

प्राकृतिक वातावरणसँगै साहसिक खेलको अनुभव लिन पाइने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो। यसअघि सुनसानजस्तै रहने कुश्मा र बलेवा क्षेत्रमा पर्यटकको आवागमन बढेसँगै होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा समेत चहलपहल बढेको छ। पर्यटन गतिविधि विस्तारसँगै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर बढ्ने तथा यस क्षेत्रका नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय