काठमाडौं । करिब २ सय ५० जना नेपाली नागरिकलाई गैरकानुनी माध्यमबाट अमेरिका पु¥याएको आरोपमा दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्यूरोले रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ का कलबहादुर बस्नेत र रुकुम पूर्व सिस्ने गाउँपालिका–५ का अमित बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।



प्रहरीका अनुसार कलबहादुर बस्नेत यसअघि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा पक्राउ परेर पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भइसकेका छन् भने अर्का प्रतिवादी अमित बस्नेत फरार छन् । अनुसन्धानका क्रममा कलबहादुरको नाममा विभिन्न बैंक खातामा जम्मा भएको ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा कसुरजन्य आम्दानी भएको दाबी गर्दै सो रकमलाई बिगो कायम गरिएको छ । त्यस्तै अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ ९४ पैसा बराबरको रकमलाई पनि गैरकानुनी आम्दानीको रूपमा दाबी गरिएको छ ।
प्रहरीका अनुसार प्रतिवादीहरूले पीडितहरूलाई विभिन्न देश हुँदै अवैध मार्गबाट अमेरिका प्रवेश गराउने काम गरेका थिए । केहीलाई अमेरिका लैजाने बहानामा अन्य देशमा अलपत्र पारिएको, ठगी तथा वैदेशिक रोजगार ठगीसमेत गरिएको दाबी गरिएको छ ।
अनुसन्धानले देखाएअनुसार आरोपितहरूले गैरकानुनी आम्दानीमध्ये केही रकम नगद राख्ने र बाँकी रकम आफ्नै नाममा सञ्चालनमा रहेका बैंक खातामा जम्मा गराउने गरेका थिए ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार बिगोको दोब्बर जरिवाना तथा कसुरको प्रकृतिअनुसार दुई वर्षदेखि १५ वर्षसम्म कैद सजायको माग गरिएको छ । साथै उनीहरूको नाममा रहेको घरजग्गा, बैंक मौज्दात र बीमा रकम जफत गर्न अदालतसँग माग गरिएको छ ।
यस घटनाले पुनः मानव तस्करी तथा अवैध आप्रवासनसम्बन्धी अपराधमा संगठित गिरोह सक्रिय रहेको संकेत गरेको छ । प्रहरीले फरार प्रतिवादीको खोजी कार्य तीव्र बनाएको जनाएको छ ।




