चितवन । चितवनमा परियार समुदायको संग्राहालय निर्माण हुने भएको छ । परियार एकता समाज चितवनको अगुवाइमा भरतपुर महानगरपालिका–२२ पटिहानीमा परियार समुदायको नेपालकै पहिलो संंग्राहालय बनाउन लागिएको हो ।

परियार समुदायको ज्ञान, सीप र क्षमता संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नका लागि संग्राहालय निर्माण गर्न लागिएको परियार एकता समाज चितवनले जनाएको छ । समाजका अध्यक्ष सुरज परियारले करिब दुई करोड रुपैयाँको लागतमा संग्राहालय निर्माण गर्न लागिएको उल्लेख गर्नुभयो । अहिले भरतपुर महानगरपालिकाको सहयोगमा भवनको डिपीसीसम्मको काम सम्पन्न भएको छ । सभा हलसहित चार तलासम्मको भवन निर्माण गर्न लागिएको छ । परियारको समुदायको दर्जी, सूचीकार, नगर्ची, ढोली, हुडकेलगायतका थर हुन्छन् । यो समुदायको मुख्य पेसा विवाह, जात्रा र पूजा जस्ता अवसरमा पञ्चेबाजा बजाएर कार्यक्रम आरम्भ गर्ने, सिलाइ र पोसाक बनाउने हो । आजभोलि परियार समुदायले अपनाउँदै आएको पेसा अन्य समुदायले अवलम्ब गर्न थालेका छन् ।

सङ्ग्रहालय निर्माणका लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ । यहाँबाट पञ्चेबाजा बजाउन सिकाउने र पुराना बाजाहरुको संरक्षणसमेत गरिने छ । परियार समुदायको पोसाकको संरक्षणसँगै विगतमा सिलाइकटाइ गर्दा प्रयोग गरिने सामग्रीको संरक्षणसमेत गरिने छ ।

विगतमा जन्मदेखि मृत्युसम्म परियार समुदायले सिलाएको कपडा लगाउनेदेखि शुभसाइतका लागि बाजा बजाउने प्रचलन थियो । संग्राहालय परियार समुदायको जातिय पहिचानसहित ज्ञान र सीपको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय