काठमाडौं । अटिजम भएका बालबालिकाको सामाजिक सुरक्षा चुनौति र भावी दिनमा अपनाउनुपर्ने सुरक्षा व्यवस्था बारेमा छलफल भएको छ । चन्द्रागिरि नगरपालिका वडा–१२ बलम्बुमा महिला उत्प्रेरणा विकास मञ्चले आयोजना गरेको कार्यक्रममा अटिजम भएका बालबालिको सुरक्षा रणनीति, भावी सुरक्षाका योजना तथा अटिजम बारेमा जनसचेतना जगाउने विषयमा छलफल भएको छ ।
अटिजम केयर सेन्टरमा आयोजित कार्यक्रममा प्रहरी बृत थानकोटका प्रमुख प्रहरी नायव निरिक्षक सूर्य प्रसाद सुवेदी, चन्द्रागिरि नगरपालिकाका नगर प्रहरी प्रमुख नरेन्द्र केसी र अटिजम केयर सेन्टर बलम्बुबीच अटिजम सम्बन्धी बढ्दो समस्या, जसले गर्दा बालबालिका, घरपरिवार र समाजमा पर्ने सुरक्षा प्रभावका बारेमा छलफल भएको थियो । कार्यक्रममा बालबालिकाको बारेमा जानकारी, पहिचान, अटिजम भएका बालबालिका विद्यालय, घर, मेला तथा बजारबाट हराएमा कसरी खोजतालस गर्ने, उनीहरुको आनीबानीको बारेमा सुरक्षा निकायसँग अनुभव आदानप्रदान भएको छ ।




अटिजम केयर सेन्टर बलम्बुकी सञ्चालिका गीता घिमिरेले अटिजमका बारेमा अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा चन्द्रागिरि नगरपालिकामा उनीहरुको अवस्था देखि अटिजम केयर सेन्टरमा सिकाईरत बालबालिकाको बारेमा जानकारी गराउनुभयो । उनीहरुको सञ्चार समन्वयको अभावले हुन सक्ने सुरक्षा खतरा तथा अवस्थाको बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा प्रहरी नायव निरिक्षक सूर्य प्रसाद सुवेदीले अटिजम सम्बन्धी जानकारी र बालबालिकाहरुका बारेमा नजिकबाट जानकारी प्राप्त गर्ने अवसर मिलेकाले उनीहरुको सुरक्षामा नेपाल प्रहरी सदैव तत्पर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । अटिजम बालबालिकालाई आगामी दिनमा सुरक्षित राख्न जिपिएस प्रणालीमार्फत् आवद्ध गरिएमा खोजतलास तथा उद्दारमा थप सहयोग मिल्न सक्ने बताउदै यस क्षेत्रमा काम गर्ने व्यक्तिहरुले सम्बन्धित निकायलाई झकझकाई रहनु पर्ने बताउनुभयो । अटिजम भएकालाई अहिलेसम्म सरकारले विशेष शिक्षाको व्यवस्थापन गर्न नसक्दा अटिस्टिक परिवार निकै मर्कामा परेका छन् ।



