काठमाडौं । तीन करोड १० लाख रुपैयाँ खर्च गरेर काठमाडौंको रत्नपार्क देखि भक्तपुरको सूर्यविनायकसम्म द्रूत बस सेवा संचालनका लागि सडकमा पोतिएको रातो रंग उक्किन थालेको छ ।
यो रुटमा रंग लगाउन र संकेत लेख्नको लागि चार वटा कम्पनीलाई जिम्मा दिइएको थियो । संविधान दिवस असोज ३ गतेदेखि काठमाडौंको रत्नपार्कबाट भक्तपुरको सूर्यविनायकसम्म सरकारले द्रूत बस सेवा संचालनमा ल्याएको थियो । द्रूत बस सेवा संचालन गरेको २३ दिन नवित्दै ३ करोड १० लाख रुपैयाँ खर्चिएर सडकमा पोतिएको रंग यतिखेर उक्किन थालेको छ ।



काठमाडौं सडक डिभिजन कार्यालयले रत्नपार्कदेखि जडिबुटीसम्म रातो रंग लगाउन के एएम कन्स्ट्रक्सन तथा अनिता बिजनेस हाउस पुतलीसडकलाई जिम्मा दिइएको थियो । त्यस्तै रत्नपार्कदेखि जडिबुटीसम्म साइनपोष्ट र साइनबोर्ड लेख्न सौरभ आटर्स एण्ड मिडिया सर्भिसेजसलाई दिइएको थियो । काठमाडौंको जडिबुटीदेखि भक्तपुरको सूर्य विनायकसम्म साइन पोष्ट र साइनबोर्ड बनाउने जिम्मेवारी नयाँ युग प्रालिलाई सुम्पिएको थियो ।
४५ मिनेटमै काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म पुग्न सकिने भन्दै केही दिनअघि मात्रै सरकारले बडा हल्लाखल्ला गरेको थियो । काम सम्पन्न भई बिल भुक्तानी नभइसक्दै सडकमा पोतिएको रंग उक्किन थालेपछि यतिखेर सर्वत्र चासोको विषय बन्न पुगेको छ । सरकारले भ्रष्टाचार निर्मुल गर्ने अभियान थालिरहँदा लाखौं सर्वसाधारणले प्रत्यक्ष देखिने गरी नै भ्रष्टाचार भएको छ । विना योजना सरकारले हतारमा निर्णय गरी हतारमै रातभर रंग सडकमा पोद्दा ठेकेदरहरुले सरकारको आँखामा रंग पोति करोडौं रुपैयाँ स्वाहा पार्न खोजेको स्पष्ट देखिन्छ ।
यतिमात्र होइन दु्रत बस सेवाका लागि छुट्टयाएको बाटोमा अरू बस तथा सवारीसाधनलाई छिर्न नदिने भनि गरिएको निर्णय पनि यतिबेला फेल भएको छ । सरकारको हतार र अर्दुदर्शी निर्णयले द्रूत सेवा सोचेजस्तो सफल हुन सकेन । जसकारण द्रूत सेवा बन्द गर्ने या चलाउने भन्ने विषयमा कुरा उठ्न थालेको छ ।



