महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका २ स्थित मदरसा सैईदा फातिमा लिल्बेनातबाट भदौ २७ गते शनिवार बिहानै भागेकि अन्दाजी वर्ष १५,१६ र १७ कि तिन किशोरीहरु आफन्त ईन्डिया फाउण्डेश्न,आफन्त नेपाल र भारतिय तथा नेपाल प्रहरीको संयुक्त प्रयासमा असोज ५ गते घर फर्किएकि छिन । मदरसाबाट भागेर भारतको लुधियाना गएकि उनीहरुलाई आफन्त नातामा मामा पर्नेले घर परिवारले दिएको सुचनाको आधारमा ट्रेनबाट फेला पारेर लुधियान स्थित आफ्नै घरमा राखेका थिए ।
किशोरीहरुलाई लुधियानासम्म पुग्न उनकै एक आफन्त युवाले सहयोग गरेको जानकारी पछि परिवारले तिनै युवालाई दबाब दिएपछि उनले ट्रेनको नाम,नम्बर र समय दिएका थिए । पछि आफन्त ईन्डिया फाउण्डेशन र पञ्जाव पुलिस सहितको टोलीले मामा घरबाट उद्धार गरि भारतको दिल्ली स्थित नेपाली दुतावासमा पुर्याएका हुन । दुतावासबाट आफन्त ईन्डियाको सहजीकरणमा परिवारसंगै उनीहरुलाई गत सोमबार नेपाल फर्काई जिल्ला प्रहरी कार्यालय महोत्तरी पुर्याइएकोमा जिल्ला प्रहरी कार्यालयमा बयान पछि परिवारको जिम्मा लगाइएको हो ।



आफन्त नेपालको उपस्थितिमा किशोरीहरुले दिएको बयानमा आफुहरुसंग मदरसामा मोबाईलको सन्दर्भमा कुटपिट र गालीगलौज भएपछि रिसाएर मदरसा छोडी भागेको प्रारम्भिक बयान दिएकि छिन । मदरसामा विद्यार्थीहरुलाई मोबाईल राख्न बन्देज रहेपनि आफुहरुसंग मोबाईल भेटिएपछि महिला शिक्षकले कुटेको निहुमा यो मदरसामा नपढ्ने भनेर आफुहरु गएको उनीहरुको बयानमा खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकृत प्रहरी निरिक्षक विश्वम्भरनाथ साहले उक्त बयान प्रारम्भिर रहेको र थप बुझने प्रयास भैरहेको बताए ।
किशोरीहरुले आफुहरुलाई कुटपिट गरेपछि रिसले गएको भन्ने बयानबारे मदरसा पक्षले गालीगलौल गरेपनि कुटपिट नगरेको प्रतिकृया दिएको छ । मदरसामा नियम विपरितका कार्य गरेपछि शिक्षकले गाली गलौज गरेर सिकाउने र बुझाउने प्रयास गरेपनि कुट्ने वा यातना दिने काम नगरेको मदरसाका संचालक मटिहानी नगरपालिका १ धिरापुर निवासी गुलाम मुस्तफा अंसारीले बताए । आफ्नो मदरसामा पढ्ने हरेक बालिका आफ्नै सन्तान सरह पढाउने गरिएको बताउदै संचालक अंसारीले बच्चाहरुले गल्ती गरेपछि सम्झाउने र अनुशासनमा राख्न सामान्य केहि नियम सिकाउने दायित्व समेत भएको बताए ।
यता बालिकाहरु मदरसाबाट भागेपछि स्थानिय प्रशासनले मदरसालाई अवैध भन्द बन्द गरेको छ । तथापी मदरसा पक्षले कोचिंग सेन्टर भनि आफुहरुले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराएको र उक्त कोचिंग सेन्टरको प्यानकार्ड समेत रहेको बताएको छ । संचालक अंसारीले आफुले मदरसा दर्ताको लागि जलेश्वर नगरपालिकाको शिक्षा शाखाका वि.सं. २०७९ मै कागजात बुझाएपनि बदनियतपुर्वक आफ्नो मदरसा तत्कालिन सरोकारवाला अधिकारीहरुले दर्ता नगरिदिएको बताए । उनले कुनै संस्था प्रकृयामा जाँदा कुनै अपुग कागजात वा केहि सुधार गर्नु पर्ने अवस्था भए सोको लागि शाखाबाट जानकारी गराउनु पर्नेमा हालसम्म त्यसको कुनै जानकारी नआएको र संस्था समेत दर्ता नगरिदिएको बताए । उनले आफ्नो कागजात जाँच गरि दिन नगरप्रमुख तथा प्रमुख जिल्ला अधिकारी सहितका सरोकारवाला व्यक्ति र निकायलाई आग्रह समेत गरेका छन ।



