काठमाडौंको टुँडिखेलमा अमेरिकी सेनाको ब्यान्ड टिमको परेड भएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वत्र चासो बढेको छ। आसन्न प्रतिनिधिसभा निर्वाचन, सेना दिवस र महाशिवरात्रिका बेला सार्वजनिक यो तस्वीरबारे नेपाली सेनाले भ्रममा नपर्न आग्रह गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, “नेपालमा सेना दिवसका अवसरमा नियमित रूपमा आयोजना हुने समारोहमा अन्य देशका सेनाको ब्यान्ड सहभागी हुने गर्छन्। हामी पनि अन्य देशमा ब्यान्ड टोली लैजान्छौँ।” उनले भारतको सेना दिवसमा नेपाली ब्यान्ड सहभागी भएको उदाहरण पनि दिएका छन्।

जंगी अड्डाले विज्ञप्ति मार्फत पनि स्पष्ट पारेको छ कि यी कार्यक्रम नियमित र पारस्परिक सम्बन्ध बुझाउने अभ्यास हुन्। आर्मी–टु–आर्मी अपरेसन, संयुक्त अभ्यास र युवा आदानप्रदान कार्यक्रम नियमित प्रक्रियामा पर्दछन्। सन् १९४७ यता नेपाल–अमेरिका बीच सैन्य सम्बन्ध रहँदै आएको छ। विगतमा विभिन्न सरकारको पालामा पनि यस्ता सैन्य ब्यान्डको प्रस्तुति हुँदै आएको थियो। नेपाली सेनाका अधिकृतहरूले अमेरिकास्थित स्टाफ कलेजहरूमा अध्ययन गर्दै आएका छन्।

नेपालले भारत, चीन, अमेरिका, बेलायत र पाकिस्तानसहितका देशसँग मिलेर नियमित रूपमा संयुक्त सैन्य अभ्यास गर्ने गरेको छ। सेनाले सबै कार्यक्रम विगतकै अभ्यासको निरन्तरता भएको स्पष्ट पारेको छ। निर्वाचन आउन दुई हप्ता मात्रै बाँकी रहँदा यो सैन्य प्रस्तुति राजनीतिक विवादको विषय बनेको छ। कतिपयले पश्चिमी शक्तिको हस्तक्षेप भएको दाबी गरे पनि सरकार र सेनाले यसलाई विगतकै नियमित अभ्यासको रुपमा लिने र भ्रामक समाचार नफैलाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय