रोल्पामा अरिंगालको टोकाईबाट एक बालकको ज्यान गएको छ । त्रिवेणी गाउँपालिका–७, गैरीगाउँस्थित वीरेन्द्र माध्यमिक विद्यालयबाट पढाई सकेर घर फर्किरहेका समयमा अरिंगालले टोक्दा शिशु कक्षामा अध्ययनरत ७ वर्षीय बालक मोहन परियारको मृत्यु भएको हो । स्थानीय धाक्रीपानी घर भएका उनको रोल्पा अस्पतालमा उपचारका क्रममा राति करिब साढे १ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।



विद्यालयबाट पढाई सकेर घर फर्किरहेका ७ जना बालबालिकालाई तिला जंगलमा अरिंगालले टोकेको थियो । स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई रोल्पा अस्पताल रेउघा ल्याइएको थियो । अरिंगालले टोकेर घाइते भइ अस्पतालमा उपचार गराइरहेकाहरुमा कक्षा १० की सुनिता परियार, कक्षा ५ का शंकर परियार, कक्षा ४ का मनिषा परियार, केजीमा पढ्ने कमल परियार र शिशुका आशिष परियार रहेका छन् । कक्षा ७ का आयुष परियारलाई भने घर फर्काइएको छ । घाइते ५ जनालाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञापन प्रतिष्ठान, घोराहीमा रिफर गरिएको बुझिएको छ ।



