काठमाडौं । अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।
गिटी बोकेको ना ६ ख २७३९ नम्बरको ट्रक शीतगङ्गा नगरपालिका– ८ सातमाराको राप्ति पुल नजिकै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी घाइते भएका थिए । उनिहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरि, शनिबार साँझ चितवनमा बोलेरोको ठक्करबाट शिक्षक र लेखापालको मृत्यु भएको छ । माडी नगरपालिका–१, बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बोलेरोले वाग्मती प्रदेश०६–००१–प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल माडी नगरपालिका–१ का सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँका बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् ।



पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।



