बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना देखिएको छ। प्रारम्भिक पूर्वानुमानअनुसार बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा यसको प्रभाव रहन सक्ने मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभागले सम्भावित मौसमी प्रभावलाई लिएर आत्तिनुपर्ने अवस्था नरहे पनि सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागकी प्रवक्ता तथा वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले पर्याप्त जलवाष्पयुक्त हावा नेपालतर्फ ल्याउने र माथिल्लो वायुमण्डलमा रहेको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले वर्षा तथा हिमपातको सम्भावना देखिएको हो। ‘तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ,’ पोखरेलले बताइन्।



धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
मौसमविद्हरूको प्रारम्भिक पूर्वानुमानअनुसार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। केही स्थानमा भने भारी वर्षासमेत हुने सम्भावना रहेको छ। यद्यपि, चक्रवातको अवशेष नेपाल नजिक आइपुग्दासम्म कमजोर भए वर्षाको प्रभाव कम हुन सक्ने र प्रणाली अपेक्षाकृत शक्तिशाली रहे प्रभाव बढ्न सक्ने पोखरेलले बताइन्। उनका अनुसार चक्रवातको गति, दिशा र तीव्रतामा हुने परिवर्तनले वर्षा सुरु हुने समय तथा त्यसको प्रभाव निर्धारण गर्नेछ। त्यसैले मौसम प्रणालीको निरन्तर अनुगमन आवश्यक रहेको उनले उल्लेख गरिन्।
उच्च हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम
चक्रवातको प्रभावले उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्ने मौसमविद्ले चेतावनी दिएका छन्।
विशेषगरी हिमाली क्षेत्रमा पदयात्रा, पर्वतारोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न व्यक्तिहरू बढी जोखिममा पर्न सक्ने भएकाले सुरक्षित स्थानमा बस्न र सम्भव भएसम्म उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न पोखरेलले सुझाव दिएकी छन्। त्यसैगरी, पहिरोको जोखिम भएका क्षेत्र तथा सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ। यात्रामा निस्कनुअघि मौसमको पूर्वानुमान र सडकको अवस्थाबारे जानकारी लिन पनि उनले आग्रह गरेकी छन्।
धान काट्ने किसानलाई पनि सतर्क रहन आग्रह
सम्भावित वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने देखिएको छ। अहिले धान काट्ने समय भएकाले किसानले मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर कृषि कार्यको योजना बनाउनुपर्ने पोखरेलले बताइन्। धान काट्ने, सुकाउने तथा भित्र्याउने काम गर्नुअघि जल तथा मौसम विज्ञान विभागले जारी गर्ने आधिकारिक सूचना र पूर्वानुमान हेर्न उनले किसानलाई आग्रह गरेकी छन्। अचानक वर्षा भए काटिसकेको धान भिज्ने र कृषि उपजमा क्षति पुग्ने सम्भावना भएकाले मौसमको अवस्थाअनुसार कामको योजना बनाउन आवश्यक रहेको छ।
पोस्ट–मनसुनमा वर्षा हुनु सामान्य
मनसुन सकिएपछि सुरु हुने पोस्ट–मनसुन अवधिमा पनि वर्षा हुनु सामान्य प्रक्रिया भएको पोखरेलले बताइन्। नेपालमा अक्टोबर र नोभेम्बर महिनामा सामान्यतया मौसम सफा रहने भए पनि यही समयमा बंगालको खाडी र अरब सागरमा चक्रवात तथा न्यून चापीय प्रणाली विकसित हुने सम्भावना रहन्छ।
समुद्रमा विकसित हुने सबै चक्रवात नेपालसम्म आइपुग्दैनन्। तर, केही प्रणाली उत्तर वा उत्तरपश्चिमतर्फ सर्दै नेपाल नजिक आइपुग्दा वर्षा गराउन सक्छन्। यस्ता प्रणालीका कारण उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने उनले बताइन्। ‘यस्ता घटना यसअघि पनि भएका छन्। त्यसैले अहिले नै नयाँ घटना भयो भन्ने होइन,’ पोखरेलले भनिन्। जलवायु परिवर्तनले नयाँ मौसमी घटना सिर्जना गर्ने मात्र नभई विगतदेखि हुँदै आएका घटनाको आवृत्ति र तीव्रतामा समेत प्रभाव पार्न सक्ने उनको भनाइ छ। त्यसैले यस्ता मौसमी प्रणालीको नियमित अध्ययन र अनुगमन आवश्यक रहेको उनले बताइन्।
आधिकारिक सूचना हेर्न आग्रह
मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागले जारी गर्ने आधिकारिक पूर्वानुमान तथा सामाजिक सञ्जालबाट प्रकाशित अद्यावधिक सूचनाहरू हेर्न मौसमविद् पोखरेलले आग्रह गरेकी छन्। मौसमसम्बन्धी अपुष्ट हल्लाका आधारमा त्रासमा बस्न नहुने तर सम्भावित जोखिमलाई बेवास्ता पनि गर्न नहुने उनको सुझाव छ। उनले आधिकारिक मौसम पूर्वानुमानका आधारमा यात्रा, कृषि कार्य तथा अन्य गतिविधिको योजना बनाउन र जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेकी छन्।



