झापा– झापाको बिर्तामोड नगरपालिका–५ की माया पुलामी मगर हत्याको अभियोगमा बिर्तामोड–८ का चन्द्रप्रसाद प्रसाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले आइतबार पत्रकार सम्मेलन गरी अभियुक्त प्रसाईलाई सार्वजनिक गरेको छ । पुलामीको माघ ८ गते बिहान ६ बजे अर्जुनधारा–६ बिहानीटोल ब्याडमिन्टन कबर्डहलको गेटछेउमा हत्या गरिएको थियो ।पुलामीको हत्या अभियोगमा बिर्तामोड ८ स्थायी घर भई हाल बिर्तामोड ५ मा बस्दै आएका ४६ वर्षीय प्रसाईंले हत्या गरेको स्वीकारेको प्रहरीको भनाई छ ।

हर्कलालमार्गमा दिलु मुखियाको घरमा कामको सिलसिलामा बस्दै आएका प्रसाईंले अवैध शारीरिक सम्बन्ध कारण उनको हत्या गरेको अनुसन्धानमा खुल्न आएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिए ।प्रहरीका अनुसार माघ ६ गते मृतक मगर र उनकी साथी ऐनु राईसँग प्रसाईंको भेट बिर्तामोड पश्चिम बसस्टेन्डमा भएको र सोही दिन राईले प्रसाईं र मगरबीच शारीरिक सम्बन्धका लागि सहमति गराएको अनुसन्धानबाट खुल्न आएको हो ।

प्रसाईंले सोही दिन मगरसँग आफू बस्ने घरमा लगेर एकपटक शारीरिक सम्बन्ध राखेको स्वीकारेका छन् । त्यस्तै, भोलिपल्ट प्रसाईंले मगरलाई खोज्दै उनी बस्ने ठाउँ अर्जुनधारा ६ को पुलचोक स्थित कभडहल नजिक पुगेका थिए ।उनीहरुबीच भेट भई गफगाफका क्रममा प्रसाईंले मगरलाई बिहेको प्रस्ताव गरेका थिए । तर, बिहेको प्रस्ताव गर्दा मगरले प्रसाईंलाई झापड हानेकी थिइन । सोहि क्रममा प्रसाईले आबेगमा बाटोमा रहेको ढुंगाले पटकपटक मगरको टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

मगरको हत्या गरेपछि ढुंगा फ्याँकेर प्रसाईं घटनास्थलबाट पूर्वतर्फ लागेका थिए । प्रहरी निरीक्षक नरेश लिम्बूको नेतृत्वमा रहेको अनुसन्धान टोलीको निष्कर्षपछि प्रसाईंलाई माघ १३ गते बिर्तामोडबाट पक्राउ गरिएको हो ।मृतक मगरका तीनवटा श्रीमान रहेको बुझिएको प्रहरीले जनाएको छ । उनी जेठो श्रीमानतर्फका छोरासँग बस्दै आएकी थिइन् । उनका पहिलो श्रीमान बस्नेत थरका, दोस्रो बुढाथोकी थरका र तेस्रो श्रीमान कुमार पुलामी मगर रहेका छन् ।

उनी घटना भएको केही दिनअघि छोराबुहारीको घर छाडेर अर्जुनधारा ६ मा गाउँघरमा काम खोज्दै बस्दै आएकी थिइन् । उनी दिनहुँ मदिरा सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय