काठमाडौं । नेपाल विद्युत् प्राधिकरण कुलेश्वर वितरण केन्द्रअन्तर्गत बलम्बु उप–वितरण केन्द्रले थानकोट–स्वयम्भू क्षेत्रमा रहेको ११ मिटर सिमेन्ट पोल प्रतिस्थापन कार्यका लागि भन्दै आइतबार केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा आउँदो आइतबार ढुंगेअड्डाबाट आर्किट कोलोनी जाने सडकखण्डमा रहेको पुरानो सिमेन्ट पोल हटाएर नयाँ पोल जडान गर्नुपर्ने भएकोले विद्युत आपूर्ति कटौटी गर्न लागेको जनाएको हो । उक्त कार्यका क्रममा स्वयम्भू–थानकोट तथा स्वयम्भू–बलम्बु फिडर प्रभावित हुने भएकाले सम्बन्धित क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।



प्राधिकरणले स्युचाटार–थानकोट फिडर अन्तर्गत ढुंगेअड्डा, भट्टराई प्लटिङ, आदर्शनगर, बालकुमारी, गुर्जुधारा, राधाकृष्ण टोल, हाईभिजन, आयल निगम गेट, पशुविकास, दहचोक तथा खहरे क्षेत्रमा विद्युत प्रभावित हुनेछन् ।
त्यसैगरी स्युचाटार–बलम्बु फिडर अन्तर्गत ढुंगेअड्डा, नैकाप, सिप्रदी, बोसीगाउँ, विष्णुदेवी, सतुंगल, सिजी गेट, हरियाली क्षेत्रदेखि चुनदेवीसम्मका स्थानमा विद्युत् सेवा अवरुद्ध रहने छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्धारित समयभन्दा अगावै प्राविधिक कार्य सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार छिट्टै पुनः सञ्चालन गरिने जनाएको छ ।




