काभ्रे- आगामी फागुन ४–७ गतेसम्म बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को आयोजना हुने भएकोे छ । महोत्सवको तयारी र महोत्सव अवधीभर हुने गतिविधीका बारेमा जानकारी दिने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा महोत्सवका उपलब्धी र त्यसले पार्ने प्रभावका बारेमा समेत मुल आयोजक समिति प्रष्ट भएको संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमले जानकारी दिए ।
जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव संचालन हुनेछ । महोत्सवका लागि मुल समिति, सचिवालय तथा विभिन्न उप समितिहरु गठन गरिएका छन् ।



महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहनेछन् ।
महोत्सवका लागि प्रति स्टल २० हजार शुल्क तोकिएको छ । महोत्सव सम्पन्न पछि एक सयवटा कृषि तथा पशुपंक्षी सम्वन्धी फार्महरुमा कृषकहरु ब्यवसायीक भई उत्पादनमा बृद्धी हुने, जिल्लाका विभिन्न स्थानीय तहमा कृषि एवं पशुजन्य उत्पादन तथा ब्यवसायका लागि उत्कृष्ट गन्तब्य बन्न सक्ने, उपत्यकाका सबै तीन जिल्लामा कृषिजन्य उत्पादनको प्रभावकारी बजारीकरणको लागि आवश्यक आधार तयार गर्ने, युवाहरु विदेशिने क्रमलाई न्युनिकरण गर्ने लगायतका उपलब्धीको अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका उप्रमुख रिमबहादुर तामाङ, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दुवाडी, समन्वय अधिकारी दिवाकर भुजेल, जिल्ला समन्वय समितिका पदाधिकारीहरु तथा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंक्षे लगायतले महोत्सवलाई भब्य र सभ्य बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए । महोत्सवका लागि १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरिएको भए पनि टुङ्गो लागेको छैन । महोत्सवका अन्य तयारी धमाधम भईरहेका छन् ।



