काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९औँ महासभामा अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सोही प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि ईयुलगायत राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सन् २०१६ देखि जुन महिनाको २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।



योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो। हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ ।



