काठमाडौं । चन्द्रागिरि थानकोटस्थित सहिद स्मृति प्रकृति प्रतिष्ठान परिसरमा अवस्थित पूर्वराजा श्री ५ त्रिभुवनको शालिकमा माल्यापर्ण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चन्द्रागिरि नगर कमिटीको पूर्वराजा त्रिभुवन वीर विक्रम शाहको शालिकमा माल्यार्पण गर्दै ७६औँ प्रजातन्त्र दिवस मनाइएको हो ।
कार्यक्रममा वक्ताहरुले राजा त्रिभुवनको स्मरण गर्दै नेपाली इतिहासमा कहिल्यै नमर्ने व्यक्तित्व राजा त्रिभुवन भएको बताए । उनीहरुले त्रिभुवनले निरंकुश राणा शासनको कठोर पञ्जाबाट देशलाई मुक्त गराउन निर्णायक भूमिका निर्वाह गरेको भन्दै वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा राजाले खेलेको भूमिका आज पनि लोकतान्त्रिक इतिहासको स्वर्णिम अध्यायका रूपमा स्मरण गरिएको बताए ।



कार्यक्रमका वक्ताहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतावादी र राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दु धर्मसहितको राष्ट्र, संघीयता नभएर स्थानीय स्वायत्त शासनलाई प्रभावकारी बनाउनु पर्छ भन्ने बीचको लडाइ रहेको बताएका छन् ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ९ र १० का उम्मेदवारहरूको पनि उपस्थिति रहेको थियो ।




