आज भाद्र शुक्ल तृतीया । हिन्दूधर्मावलम्बी महिलाले हरितालिका तीज मनाउँदैछन् । आज व्रत बसी शिव पार्वतीको पूजा आराधना र उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरे विवाहित महिलालाई पारिवारिक सुख, शान्ति र कल्याण मिल्ने र अविवाहित युवतीले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिको गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ । तीज पर्वको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा व्रतालुको घुइँचो लागेको छ ।



त्यस्तै उपत्यकाका गोकर्णेश्वर, कुम्भेश्वर, सन्तानेश्वर, डोलेश्वर, नागेश्वर, कोटेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना(ठूला शिवालयमा पनि भीड छ । यस्तै उपत्यका बाहिर सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको भीड लागेको छ ।
आज व्रत बस्ने महिलाले हिजो मीठा मीठा परिकार दरका रुपमा खाएका छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा तीजलाई उपयोग गर्ने गरेका छन् । भाद्र शुक्ल द्वितीयामा दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ ।
सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी पौराणिक मान्यता छ । वरदान विपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाएको र उनलाई साथीहरुले हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएको बताइन्छ । लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि तीजको व्रत लिने प्रचलन शुरु भएको जनविश्वास छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।



