महोत्तरी – आठ वर्षअघि महोत्तरीमा मारिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विककी श्रीमती शोभा विक छोरा सहित न्यायको माग गर्दै महोतरीको जलेश्वर आई पुगेकी छन ।अदालतले दोषी ठहर गरेका निलम्बित सांसद लक्ष्मी महतो कोइरी सहित २८ जना लाई पहुँचका आधारमा संरक्षण गरिएको आरोप लगाउँदै जिल्ला अदालत महोतरी तथा सरोकारवालासँग न्यायको माग गर्न थमनपत्नी शोभा विक छोरा सहित जलेश्वर आएकी हुन । अदालतबाट पक्राउ पुर्जी पाए पनि प्रहरीले नियन्त्रणमा लिन नसकेको र आठ वर्ष बित्दासमेत न्याय पाउन नसकेको उनको गुनासो छ । उनी दिनभर जिल्ला अदालतमा थुनछेकको वहसमा बसेका थिए । मंगलवारदेखि शुरु भएको थुनछेक बहसमा उच्च अदालत जनकपुर सरकारी वकिलको कार्यालय महोतरी र धनुषाका सरकारी वकिलले थमन विकको तर्फबाट बहस गरेका थिए । बुधवार प्रतिवादीको तर्फबाट बहस भईरहेका छन ।
उच्च अदालत जनकपुरका न्यायधीश पुष्पराज कोइराला र प्रभा बस्नेत संयुक्त इजलासले महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न २०७७ मंसिर १९ गते आदेश दिएका थिए । जिल्ला अदालत महोत्तरीका न्यायधीश श्यामसुन्दर अधिकारीको इजलासले लक्ष्मी महतोबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम एक लाख रुपैयाँ नगद धरौटी लिई २०७६ असोज २ गते तारेखमा राख्ने आदेशलाई उच्च अदालतले पल्टाएर पुर्पक्ष गर्न आदेश दिएको थियो ।जिल्ला अदालतको आदेश मिलेको नदेखिँदा बदर गरी महतोलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न आदेश भए पनि उनी पक्राउ परेका छैनन। गौशाला नगरपालिका–२ का ६० वर्षीय लक्ष्मी महतो २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट महोत्तरी १ बाट निर्वाचित भएका थिए जनकपुर उच्च अदालतले जारी गरेको वारेन्टका कारण उनी प्रहरीको खोजी सूची’मा छन।



अदालतमा दायर अभियोगपत्रअनुसार कर्तव्य ज्यान अभियोगमा निलम्बित सांसद लक्ष्मी महतो कोईरी प्रदेश सांसद अभिराम शर्मा सहित २८ तथा एम्बुलेन्स आगजनीमा २५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । हत्यामा संलग्न रहेको आरोपमा जलेश्वरका प्रदीप माझी, सञ्जय साह, पवन कापर गरी तीन जना महोत्तरी जिल्ला अदालतको आदेशबाट जलेश्वर कारागारमा थुनामा रहेका छन । जिल्ला अदालत महोत्तरीमा रामाशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय तारेखमा छन् । अदालतमा हाजिरी नभएका अभियुक्तको नाममा पक्राउपुर्जी जारी गरिएको जिल्ला अदालत महोत्तरीले जनाएको छ । हाजिर नभएकाहरूको सम्पत्ती रोक्का गरिएको छ ।सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई लाठी, लात्ती, मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते विकलाई उद्धार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पु¥याएको थियो । घाइते विकलाई जिल्ला अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पतालको एम्बुलेन्समा जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा महोत्तरी–८ सनोखडाको धान खेतमा विकलाई २०७२ भदौ २५ मा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीलेहत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ ।



