झापा – पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुहरु अलैंची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको मेची भन्सार कार्यालय झापाले जानकारी दिएको छ ।मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक बर्ष २०७९-०८० मा रु. आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैची भारत निकासी भएको छ ।
आर्थिक बर्ष २०७८-०७९ मा सोही अवधिमा रु. चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार ४४३ केजी अलैची भारत निकासी भएको थियो ।गत आवको तुलनामा आर्थिक बर्ष २०७९-०८० मा अलैचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको हो । अर्थात् तुलनात्मक रुपमा रु. तीन अर्ब ४७ करोड ७१ लाख २४ हजार मूल्य बराबरको अलैची निर्यात वृद्धि भएको छ ।



यसैगरी, गत आवको तुलनामा आर्थिक बर्ष २०७९-०८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष २०७९-०८० मा रु. तीन अर्ब ४२ करोड ६९ लाख ५२ हजार मूल्य बराबरको एक करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।
उहाँले अघिल्लो बर्षको तुलनामा रु. ५५ करोड २३ लाख ४२ हजार मूल्य बराबरको चिया निर्यात वृद्धि भएको बताए । आव २०७८-०७९ मा रु. दुई अर्ब ८७ करोड ४६ लाख १० हजार मूल्य बराबरको एक करोड १७ लाख १३ हजार ६५९ केजी चिया निर्यात भएको थियो ।
अदुवा र अम्रिसोको निर्यात समेत बढेको छ । आर्थिक बर्ष २०७९-०८० मा रु. ६३ करोड ९२ लाख २९ हजार मूल्य बराबरको एक करोड ५५ लाख ४२ हजार ९३० केजी अदुवा निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।
उनका अनुसार अघिल्लो बर्षको तुलनामा रु. ३० करोड २३ लाख छ हजार मूल्य बराबरको अदुवा निर्यात वृद्धि भएको छ । आव २०७८-०७९ मा रु. ३३ करोड ६९ लाख २३ हजार मूल्य बराबरको एक करोड चार लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो । अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, आर्थिक बर्ष २०७९-०८० मा रु. ८६ करोड ४३ लाख मूल्य बराबरको एक करोड १९ लाख ७३ हजार ९८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ ।
प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो बर्षको तुलनामा रु. २३ करोड ५३ लाख १९ हजार मूल्य बराबरको अम्रिसो निर्यात वृद्धि भएको छ । आव २०७८-०७९ मा रु. ६२ करोड ८९ लाख ८१ हजार मूल्य बराबरको एक करोड २४ लाख ४३ हजार २४५ केजी अदुवा निर्यात भएको थियो । अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ ।
प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक
पूर्वीनाका काँकरभिट्टाबाट निकासी हुने वस्तुहरुमा प्लाइउड र छुर्पीको योगदान उच्च रहेको छ । गत आवको तुलनामा आर्थिक बर्ष २०७९-०८० मा यी दुई वस्तुको निर्यात अत्यन्त उत्साहजनक रहेको छ ।
मेची भन्सार कार्यालयको तथ्याँंक अनुसार आर्थिक बर्ष २०७९-०८० मा रु. एक अर्ब ९९ करोड १० लाख ११ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको छ । जबकि आर्थिक बर्ष २०७८-०७९ मा रु. १० करोड ८० लाख ५७ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको थियो ।
यसैगरी, आर्थिक बर्ष २०७९-०८० मा रु. एक अर्ब १० करोड ८१ लाख ११ हजार मूल्य बराबरको छुर्पी निकासी भएको छ । जबकि आर्थिक बर्ष २०७८-०७९ मा रु. आठ करोड ४३ लाख ३५ हजार मूल्य बराबरको छुर्पी निकासी भएको थियो ।
कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायतका विभिन्न जिल्लामा चियाको उत्पादन हुने गरेको छ भने पहाडी भेगका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा अलैंची, अदुवा, अम्रिसो, छुर्पी जस्ता कृषिजन्य बस्तुको उत्पादन हुने गरेको छ । पहाडी जिल्लामा कच्चा पदार्थ उत्पादन भए तापनि अलैची, अदुवा, अम्रिसो र प्लाइउडको प्रशोधन, भण्डारण र ब्रान्डिङ भने झापामा हुँदै आएको छ ।



