काठमाडौं । ournewscrew को पहलमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ मा अवैधरुपमा संचालित चिनी गोदाममा छापा मारिएको छ ।  अवैध रुपमा चिनी गोदाम संचालन गरिएको हामीले पुष्टि गरेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई बोलाई गोदाममा शिल लगाएका हौं । १०–१२ दिनदेखि वडा भित्र अवैधरुपमा चिनी गोदाम संचालनमा रहेको भन्ने खबर हामीलाई विहान ७ बजेतिर प्राप्त भयो । हामी उक्त गोदाममा पुग्यौ । गोदाममा भएको गतिविधिलाई विहानै देखि निरन्तर पच्छ्याइ रहयौं ।


हामीलाई जानकारी दिने व्यक्तिले विहान ५ बजे एउटा ट्रकले चिनी अनलोड गरेको र अर्को दुई वटा चिनीले भरिएको ट्रक गोदाम आसपासमा रहेको भनि खबर दिएको थियो । उक्त खबर प्राप्त भएसँगै हाम्रो टिम चिनी राखिएको उक्त गोदाममा गोदाममा पुग्यो । हामीलाई जुन घर भनिएको थियो त्यहाँ कोही केही गतिविधि देखिएन । हामीले सँगै रहेको मिलमा पनि चेक गर्यौ । वरपर सोध्यौ, हेर्यौ, तर, कसैले केही थाहा छैन । तर, हामी एकीन थियौं हाम्रो स्रोत गलत हुन सक्दैन । त्यसैले त्यही वरपर गोदाम खोज्न थाल्यौं ।

हामीलाई एउटा बन्द रहेको सटरमा शंका लाग्यो । सटर वरपर गएर बाटोमा नियाल्दा केही चिनीका दाना खसेको देख्यौ । अब हामी पक्का भयौं यही नै चिनीको गोदाम । हामी केही पर गई त्यहाँको गतिविधि नियाल्दै बस्यौ । बा.१२.च ८६१० नम्बरको एउटा गाडी गोदाम छेउमै रोकियो । हामी त्यही गयौं । गाडीको पछाडी हेर्यौ चिनी र चामल गाडीमा पोखिएको देख्यौ । हामीलाई देखेर उनीहरु सटर नखोलि यताउता गरिरहे । हामीले उनीहरुलाई सोध्यौ सटरभित्र के छ ? हामीले सोधेपछि उनीहरु डराएर गाडी लिएर भाग्न खोजे । हामीले हत्तपत्त क्यामेरा निकाल्यौ र भिडियो लियौं । ड्राइभरलाई सोध्यौ, उनले डराउँदै भने चिनी लिएर गएको । हामीलाई केही थाहा छैन यहाँको साहुलाई बोलाएर ल्याउँछु भन्दै गाडि लिएर भागे ।

त्यसपछि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ र प्रवक्ता कृष्णप्रसाद शाहीलाई जानकारी गरायौं यहाँ अवैध रुपमा चिनी राखिएको छ भनि । उहाँलाईलाई जानकारी गराएपछि सोही वडाका वडा अध्यक्ष नरेन्द्र महर्जन गोदाम भएको ठाउँमा आइपुग्नु भयो ।

त्यसपछि हामीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीलाई खबर गर्यौ । विभागका कर्मचारी र प्रहरी आएपछि चिनी गोदाम कसले राखेको हो भनि खोजीनीति गर्न थालियो । तर, कोही सम्पर्कमा नआएपछि वाणिज्य विभागले प्रहरी, स्थानीय, ournewscrew.com को रोबहरमा गोदाममा शील मारियो ।

विभागले संचालकलाई २४ घन्टा भित्र सम्पर्कमा आउन भन्दै गोदाममा सूचना टाँस गरेको छ । यदि २४ घण्टासम्म कोही सम्पर्कमा नआए कानूनी प्रक्रिया अघि बढाइने विभागले जानकारी हामीलाई गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय