एजेन्सी । इरानमा दुई हप्तादेखि जारी सरकारविरोधी प्रदर्शन चरम हिंसामा परिणत भएको छ । प्रदर्शन दबाउन सरकारले व्यापक दमन गरिरहेको छ । आन्दोलनकारीमाथि अन्धाधुन्ध गोली चलाउँदै एक दिनमै सयौँको मृत्यु भएका रिपोर्ट सार्वजनिक भएका छन् । यसले देशभित्र मात्र नभई बाह्य संकट निम्तिने जोखिम बढेको छ । अमेरिकाले नागरिकमाथि थप दमन नगर्न अन्तिम चेतावनी दिएको छ ।

के भएको हो इरानमा ?

इरानका सडकहरू अहिले आगोको ज्वाला र नागरिकको आक्रोशले भरिएका छन् । आर्थिक मन्दी र महँगीको विरोधबाट सुरु भएको यो आन्दोलन अहिले इस्लामिक सत्ता परिवर्तनको एकसूत्रीय मागमा बदलिएको छ । तेहरानका मुख्य चोकहरूमा प्रदर्शनकारीले सरकारी भवन र सुरक्षा चौकीहरूमा आगजनी गरिरहेका छन् ।
मानवअधिकारवादी संस्थाहरूका अनुसार यो दमनमा परी हालसम्म ५ सयभन्दा बढीको ज्यान गइसकेको छ । हजारौं घाइते भएका छन् भने १० हजारभन्दा बढी प्रदर्शनकारीलाई सुरक्षा बलले नियन्त्रणमा लिएको छ ।
तेहरानका डाक्टरहरूका अनुसार अस्पतालहरूमा शव राख्ने ठाउँ समेत अभाव हुन थालेको छ । इरान सरकारले प्रदर्शनकारीलाई विदेशी दलाल र आतंककारीको संज्ञा दिँदै देख्नेबित्तिकै गोली हान्ने आदेश दिएको छ । बाहिरी विश्वसँगको सम्पर्क टुटाउन देशभर इन्टरनेट सेवा ठप्प पारिएको छ । तर, केही प्रदर्शनकारीले एलन मस्कको स्टारलिंक स्याटेलाइटमार्फत् भिडियो तथा तस्बिरहरु बाहिर पठाउँदै सुरक्षा बलको बर्बरता सार्वजनिक गरिरहेका छन् । इरानभित्र मात्र नभई विश्वभर रहेका इरानी पनि सडकमा उत्रिएका छन् । लन्डनस्थित इरानी दूतावासमा प्रदर्शनकारीले सन् १९७९ को क्रान्ति अघिको पुरानो झण्डा फहराएका छन् ।

अमेरिकी आक्रमणको चेतावनी

इरानी नागरिकमाथि सरकारले गरिरहेको दमनविरुद्ध अमेरिकाले एक्सन लिने तयारी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै इरान सरकारलाई नागरिकमाथि दमन नगर्न पटकपटक चेतावनी दिएका छन् । उनले आफूहरुले चाँडै काम गर्ने चेतावनी दिँदै ह्वाइट हाउसले सैन्य हस्तक्षेपका विकल्पहरूमा छलफल सुरु गरिसकेको बताएका छन् । उता, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले भने अमेरिका वा इजरायलले आक्रमण गरेमा मध्यपूर्वमा रहेका उनीहरूका सबै सैन्य अखडा ध्वस्त पारिदिने धम्की दिएका छन् । इरानको यो विद्रोह कता पुगेर टुङ्गिने हो, यसै भन्न सकिने अवस्था छैन । तर, दशकौंदेखि बोल्न नसकेका इरानी जनताको आक्रोशले इस्लामिक गणतन्त्रको जग हल्लाईदिएको छ । यसले इरानमा भइरहेको नयाँ विद्रोहले क्रान्तिको रुप लिने र सरकार फाल्ने सम्भावनाहरु बारे विश्वमा चर्चा हुन थालेको छ । यतिमात्र नभई अमेरिकाले हस्तक्षेप गरेमा यसले क्षेत्रीय द्वन्द्व निम्त्याउन सक्नेसमेत अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय