मकर सक्रान्तिको अवसरमा इलामको माई र जोगमाइ खोलाको संगमस्थलमा माइबेनी मेला सुरु भएको छ । मेलामा मकर नुहाउने, पूजाआजा गर्ने, बली चढाउने, परेवा उडाउने, ब्यापार गर्ने र रमाइलो गर्न जानेको भीड छ । इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका वडा नम्बर ४ नामसालिङ्गको वीचमा लाग्ने मेलामा पहिले एक सातासम्म मानिसहरुको भीड लाग्ने गर्दथ्यो । माइखोलालाई शक्तिकी देवीको रुपमा पुजाआजा गर्ने चलन समेत रहेकाले कोशि प्रदेशका विभिन्न भाग र भारतको दार्जिलिङ्ग, सिक्किम, मानेभञ्ज्याङ्ग, मिरीक लगायतका स्थानबाट भक्तजन मेला भर्न र मकर नुहाउन माइवेनी आउने गरेका छन् ।

माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वास समेत रहेको छ । इलामको सन्दकपुर मुहान रहेको माइखोला अरु खोलाहरुसंगै झापा पुग्दा कन्काई नामले परिचित छ । कन्काई किनारमा पनि मकर सक्रान्तिको अवसरमा भव्य मेला लागेको छ । राणा शासनकालमा तत्कालिन बडाहाकिम गजराजसिंह थापाले १९२० सालतिर सुरु गरेको माइवेनी मेला ऐतिहासिक भएकाले सबै जातजाति र उमेर समूहकाहरुको भीड लाग्ने गर्छ । मेलामा धान, मारुनी जस्ता परम्परागत कला संस्कृति झल्किने प्रस्तुति भने अचेल देखिंदैनन् । मेलालाई भब्य र शान्तिपूर्ण ढंगबाट सम्पन्न सुरक्षा ब्यबस्था कडा बनाएको आयोजकले जनाएको छ ।

मेलामा लाखौं मूल्य बराबरको उखु र सुन्तलाको कारोबार भएको ब्यबसायीले बताएका छन् । सुन्तलाको पकेट क्षेत्र मानिएको जिल्लाको नामसालिङ्ग, सोयाङ्ग र गोदकका कृषकहरुले मेलामा सबैभन्दा धेरै सुन्तला बिक्री गर्ने गरेका छन् । यी गाउँको सुन्तला ब्यपारीहरुले कृषकहरुको बगानबाटै खरीद गर्ने गरेका छन् । मेलामा एकजना कृषकले कम्तिमा ५० हजार रुपैंयाँ सम्मको सुन्तला बेच्ने गरेको मेलामा सुन्तला बिक्रि गर्न बसेका कृषकहरुले बताए । मेलामा सुन्तलाको कारोबार भइरहँदा उखुको कारोबार पनि अत्यधिक भइरहेको छ । नामसालिङ्ग, सोयाङ्ग र गोदकमा मात्र उत्पादन हुने उखु कृषकहरुले बजार नपाउँदा हरेक बर्ष लाग्ने माइबेनी कुरेर बस्ने गरेका छन् ।

हरेक बर्ष लाग्ने माइबेनी मेलामा भने कृषकहरु उखु बिक्रि गरेर मनग्ये आम्दानी लिने गर्दछन् । मेलामा स्थानीय स्तरमा उत्पादन भएको उखु र सुन्तलाको लाखौंको कारोबार भइरहँदा चटपटे बिक्रि गर्नेदेखि अस्थायि रुपमा होटल ब्यबसाय तथा लत्ताकपडा र माला बिक्री गर्ने ब्यपारीको कारोबार पनि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय