नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्यवृद्धि दर पछिल्लो दुई वर्षयताकै न्यून विन्दूमा ओर्लिएको जनाएको छ । केन्द्रीय बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै कात्तिकमा मूल्यवृद्धि दर ५.३८ प्रतिशतमा सीमित रहेको जानकारी दिएको हो । यो २५ महीना यताकै न्यून मूल्यवृद्धि दर हो । सरदरमा मूल्यवृद्धि दर घटे पनि कयौं उपभोग्य वस्तु र सेवाको मूल्यवृद्धि दर उच्च नै देखिएको छ ।



बैंकका खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.८९ प्रतिशत रहेको छ । २०७८ असोजमा मूल्यवृद्धि दर ४.२४ प्रतिशत थियो भने गत असोजमा मूल्यवृद्धि दर ७.५ प्रतिशत पुगेको थियो । गत आर्थिक वर्ष २०७९÷८० मा मूल्यवृद्धि दर ७.७४ प्रतिशत रहेको थियो ।
त्यस्तै चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसअवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको « बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भइ तीन अर्ब ६० करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । सञ्चितिले १३.६ महिनाको वस्तु तथा ११.३ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त हुने बताइएको छ । गत आर्थिक वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा चालुखाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा चालुखाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको थियो । गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति ८.९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या घटेको छ ।चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ रहेको छ । यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ ।



