कपिलवस्तु – कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ७ मोतीपुर दलित वस्तीकी यी हुन्, माया थारु । २० वर्ष अघि सडक दुर्घटनामा परी दुवै खुट गुमाएकी मायाको जीवन निकै कष्टकर वित्दै आएको थियो । सुकुम्वासी वस्तीमा ५ धुर जग्गामा जेनतेन एउटा कच्ची घर बनाएर यी दम्पती वस्दै आएका छन् । श्रीमान् आंखामा मोतिया विन्दुको कारण निकै कम देख्छन् तर पनि आफु र अपांग श्रीमती पाल्न दिनभर मजदुरी गर्न जान्छन् ।
समाजमा उपेक्षा गरिने उष्णप्रदेशिय रोगहरु प्रभावित व्यक्तिहरुको स्वयंहेरचाह समूह गठन मार्फत आधारभूत स्वास्थ्य परियोजना अन्र्तगत उनलाई एउटा ह्विल चेयर प्रदान गरे पछि भने उनको जीवन निकै सहज भएको छ । घरमै घस्रिएर बस्नु पर्ने उनको बाध्यता हटेर गाउं घर सम्म जान सक्ने भए पछि उनी निकै खुशी छिन् ।



घरमै वस्ने माया थारु दिनभर जसो घर परिसरमै घस्रेरै भए पनि कष्टकर ढंगबाट दिन काट्दै आएकी थिईन् । उनको यस्तो अवस्थालाई भने यहांका स्थानीय जनप्रतिनिधी तथा स्थानीय सरकारबाट भने खासै कुनै सम्वोधन भएन । कार्यक्रमले धेरै ठुलो सहयोग गरेको त होईन, एउटा ह्विल चेयर सामान्य सहयोग हो तर यो सहयोगले उनको जीवनमा ठुलो परिवर्तन आएको प्रति आफुहरु खुशी रहेको सहयोगी संस्था कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावलले बताए ।
बाटो पक्की नहुदा भने ह्विल चेयर चलाएर गाउंबाट बाहिर निस्कन भने निकै अप्ठेरो पर्ने गरेको छ, मायालाई । वाणगंगा नगरपालिकाले वर्षेनी लाखौ रुपैया भौतिक निर्माणमा खर्च गर्छ तर अपांग वस्ने गाउंवस्तीमा अपांगमैत्री बाटो निर्माणमा भने खासै ध्यान दिन सकेको छैन ।



