काठमाडौं । नेपाल सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार मन्त्रालयलगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा आइतबार र सोमबार समस्या आउँदा सेवाग्राही समस्यामा परेका हुन ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार केन्द्रमा साइबर आक्रमणको प्रयास भएको र ह्याकरले केन्द्रको सर्भरमा एकै पटक धेरै ट्राफिक पठाएकाले यस्तो समस्या आएको हो । केन्द्रका अनुसार यस्तो समस्या आउन नदिन जगेडा सर्भर (मिरर सर्भर) राख्नु पर्नेमा त्यस्तो सर्भर नहुँदा सरकारी वेबसाइटहरू असुरक्षित भएका हुन । केन्द्रले हेटौँडाको डाटा सेन्टरमा अनलाइन नभई अफलाइन मात्र डाटा भण्डार गर्ने गरिएको छ । काठमाडौँमा रहेको डाटा सेन्टर डाउन हुँदा हेटौँडाको डाटा सेन्टरबाट चल्ने बनाउने भनिए पनि सो हुन सकेको छैन ।



सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सर्भर डाउनको समस्या समाधान गर्न प्राविधिक टोलीले पहल गरिरहेको जानकारी दिएको छ ।



