तपाईं हाम्रो दैनिक जीवनमा प्रयोग हुने नुन एक केजीको कति पर्छ भन्ने सबैलाई थाहै छ । तर १ केजी नूनको मूल्य १ सय १० रुपैयाँ पर्छ भन्ने कुरामा भने विश्वास गर्न गाह्रो छ । तर हिमाली जिल्ला ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –५ पापुङस्थित समुद्र सतहदेखि करिब ३ हजार ८ सय मिटरको उचाइमा रहेको तोक्पेगोलाका स्थानीयहरू नुन मात्र होइन, नुनदेखि सुनसम्मकै सामग्रीहरू महँगो मूल्यमा खरिद गर्न बाध्य छन् । यहाँका जनतालाई सबै सामानको लागतमा उल्लेखनीय भार सहनुपरेको छ । यसले त्यहाँको जीवनशैली कति कष्टकर छ भन्ने पुष्टि गरेको छ ।
बजारमा कुनै पनि सामाग्रीको अभाब सिर्जना हुँदा तुलनात्मक रुपमा बस्तुको मुल्य आकासिन्छ नै । तर ताप्लेजुङको तोक्पेगोलामा कुनै पनि सामग्रीको अभाव छैन, तर पनि स्थानीयहरूले अन्यत्रभन्दा कैयौँ गुणा महँगोमा सामान खरिद गर्नु परिरहेको छ । जिल्लाका ६१ वटा वडाका अधिकांश भू–भागमा सडक सञ्जाल पुगेको छैन । यातायातको सहज पहुँच नहुनुदा बजारमा २५ देखि ३० रुपैयाँमा पाइने एक केजी नुन तोक्पोगोलाका नागरिकले १ सय १० रुपैयाँ मूल्य तिरेर खरिद गर्न बाध्य छन् । यो स्थिति न त सामानको कमीका कारणले हो, न त आपूर्तिमा कुनै समस्या भएर । यो केवल ढुवानीको जटिलताको कारणले हो, जहाँ सामानहरूलाई उच्च उचाइका खतरनाक बाटाहरू हुँदै पु¥याउनुपर्छ ।



तोक्पेगोला क्षेत्र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । यहाँ जाने पर्यटकको संख्या दिन प्रतिदिन बढिरहेको छ । तर, हरेक सामग्रीहरू महँगो ढुवानीमा खरिद गर्नुपर्दा त्यसक्षेत्रका स्थानीयहरू मात्र होइन, त्यहाँ पुग्ने पर्यटकहरूले समेत खानबस्नका लागि अत्यधिक मूल्य तिर्नुपर्दा थप समस्या सामना गर्नुपरेको छ । सदरमुकामबाट करिब ५ घण्टाको सवारी साधनको यात्रा गरेपछि लगभग १० घण्टा बढीको पैदल यात्रा गरेर मात्र तोक्पेगोला पुग्न सकिन्छ । सडक अन्त्य भएपछि खच्चड, याक तथा चौँरीको प्रयोग गरी सामान ढुवानी गर्नुपर्ने हुन्छ । लाखौँको मूल्य पर्ने चौपायामार्फत सामाग्री ढुवानी गर्दा पनि निकै चुनौती र कठिनाइहरू उत्पन्न हुन्छन् । बाटो अप्ठ्यारो भएकाले कतिपय क्षेत्रमा चौपाया घाइते हुने र कहिलेकाहीँ ज्यानसमेत जाने हुँदा ढुवानीको लागतमा थपिएको खर्च नै सामानको मूल्यबृद्धिको प्रमुख कारण हो ।
सडक सञ्जाल नपुगेका यस्ता दुर्गम क्षेत्रमा स्थानीयहरू र पर्यटकहरू गम्भीर बिरामी परेमा वा कुनै आकस्मिक अवस्था आएमा हेलिकप्टर चार्टर गर्नु बाहेक अर्को विकल्प नै छैन । यी समस्याबाट मुक्त गराउन स्थानीय तहहरूले आगामी दुईदेखि तीन वर्षभित्रै सडक सञ्जालले जोड्ने गरिको प्रयास भइरहेको दाबी गरेका छन् । तर, कति यथार्थ हो र कति समयमै पूरा हुन्छ भन्नेमा विश्वासको खडेरी देखिन्छ ।
तोक्पेगोला लगायतका आसपासका क्षेत्रहरूमा पर्यटनको प्रशस्त सम्भावना छ । तर, ती सम्भावनालाई वास्तविकतामा बदल्नका लागि चाँडोभन्दा चाँडो सडक सञ्जाल विस्तार गर्नु बाहेक अरू कुनै विकल्प छैन । यदि सडकले यो बस्तीलाई जोड्न सकेमा अहिले सयौँको संख्यामा आउने पर्यटकको संख्यामा बृद्धि भई लाखौँमा पुग्ने कुरामा दुईमत छैन । तर, यी सबै सपना र सम्भावनाहरू केवल सडकको सहज पहुँचले मात्रै सार्थक बनाउनेछ । त्यसैले सम्बन्धित निकायहरूले तोक्पेगोलाको माग र आवश्यकता सुनेर यथाशीघ्र सडक विस्तारको काम थालनी गर्नुपर्दछ। अन्यथा, यहाँको दैनिकी महँगो नुनसँगै सुनमा पनि बेच्न बाध्य हुने अवस्था उत्पन्न हुनेछ ।



