काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग भएको सात बुँदे सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको छ । ४२औं विपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता थापाले आफूहरुले सहमति पढेरै पार्टीबाट निर्णय गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सदनमा पढेर सहमति सुनाउनुपर्ने बताउनुभएको हो ।

विश्वासको मत लिने क्रममा संसदमा सांसदलाई कुनै प्रकारको संशय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधनको विषयलाई लिएर गलत भाष्य चित्रण गर्न खोजिएको बताउँदै ७२ साल यता संविधान अनुसार संघीयता र अन्य विषयमा राखिएको प्रावधानबारे प्राप्त अनुभव र त्यसमा देखिएका समस्यालाई नै निराकरण गर्न संशोधन गर्न खोजिएको बताउनुभयो । तर अहिले सरकारले सुशासन स्थापना गरेर जनताको आक्रोशलाई कम भएपछि आवश्यक ठाउँमा संविधान पुनरावलोकन गर्न माओवादीसँग संवाद गर्नुपर्ने उहाँको भनाइ छ ।

फरक प्रसंगमा महामन्त्री थापाले एमालेसँग मिल्नुको औचित्य कांग्रेसले पुष्टि गर्न सक्नुपर्ने बताउनुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै चकचकले नयाँ सरकार बनेको बताउँदै अब स्थिरता दिनेतर्फ दुई दलले सोच्नुपर्ने उहाँको तर्क छ । महामन्त्री थापाले दुई ठूला दलको विश्वास जनतामा गुम्न नदिन पनि दुवै दलबीच भएको सहमति कार्यान्वयनमा आशंका गर्ने अवस्था आउन दिन नहुने तर्क गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय