काठमाडौं । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कुनै न कुनै बहानामा बोल्ने अधिकारबाट बञ्चित गरिएको बताउनु भएको छ । बोल्ने अधिकार बञ्चित गरिनु लोकतन्त्र नभएको र यसले गणतन्त्रलाई नै खतरामा पार्ने भन्दै अब एमाले चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।




नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले पछिल्लो समय सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने माग गर्दै संसद अवरोध गरेको र गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा भन्दै प्रमुख प्रतिपक्षीले लगातार संसद अवरोध र बोल्न नदिएको र संसद भित्रै मुठभेडको स्थितप्रति इंगित गर्दै केही तत्वका कारण लोकतन्त्र खतरामा परेको उल्लेख गर्नुभयो । नेकपा एमालेले शान्तिपूर्ण ढंगले संसदीय अभ्यास गरिरहँदा लोकतन्त्र, गणतन्त्र र बहुलबादमा रहेको नेकपा एमालेलाई कुनै न कुने बहानामा बोल्ने अधिकारबाट बञ्चित गरिएको उल्लेख गर्नुभयो ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी इन्चार्ज आनन्द पोखरेलले अधिवेशनबाट चुनिने नेतृत्वले संगठन सुदृढीकरण, विस्तार र जनसरोकारका सवाललाई उठाउनु पर्नेमा जोड दिनुभयो । एमाले केन्द्रीय सदस्य एवम् चन्द्रागिरि इन्चार्ज शर्मिला कार्कीले पार्टीमा गुट, उपगुट बन्न नहुने र नेतृत्वले दिएको निर्देशन अनुरुप चल्न सुझाव दिनुभयो । उहाँले अबका दिनमा चन्द्रागिरि नगरपालिको राजनीतिक नेतृत्व नेकपा एमालेको हुने गरी काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

‘संगठन सुदृढीकरण र विस्तार अबको संकल्प, समृद्ध चन्द्रागिरिको लागि नेकपा एमाले निर्विकल्प’ नाराका साथ सुरु भएको दोस्रो नगर अधिवेशनमा चन्दागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले आफूले नेकपा एमालेबाट चन्द्रागिरि नगरपालिकाको उपमेयरमा विजयी भएको र नगर, जनता र पार्टीको इज्जत बढ्ने गरी काम गरिरहेको दाबी गर्नुभयो । नेकपा एमाले दक्षिणकाली र कीर्तिपुर नगरपालिकाका इन्चार्ज सुरेन्द्र मानन्धरले जनताको सुख दुःखमा साथ दिनका लागि अब चुनिने नेतृत्वले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नगर कमिटीका अध्यक्ष राजु श्रेष्ठले उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण पार्टी पंक्तिलाई धन्यवाद ज्ञापन गर्नुभयो । उद्घाटन अघि चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाबाट बाजागाजा र झाँकीसहितको र्याली उद्घाटनस्थल चन्द्रागिरि–५ किसिपिडी (लाछी) पुगेको थियो ।

कार्यक्रममा मोहनचन्द्र अधिकारी, रामशरण आलेमगरलगायतलाई विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम, नृत्य तथा स्थानीय खेलाडीहरुको कला कौशल प्रदर्शन गरिएको थियो । अधिवेशनको बन्द सत्र चन्द्रागिरि–१० सतुंगलस्थित सतुंगल पार्टी प्यालेसमा आजैबाट सुरु भएको छ । भोलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । ११ सय ४२ जना संगठित सदस्य रहेको एमाले चन्द्रागिरि नगर कमिटीबाट १ सय ९० जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछ ।



